Logo २५ असार २०८३, बिहिबार | Fri Jul 10 2026


भारतको नयाँ नक्साः देउवाले गरे भारतीय राजदूतसित टेलिफोन संवाद


0
Shares

काठमाडौं, कात्तिक २१ । प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बिहीबार भारत सरकारले हालै सार्वजनिक गरेको नक्साका सन्दर्भमा नेपालका लागि भारतीय राजदूत मन्जिभसिंह पुरीसँंग टेलिफोन संवाद गरेका छन् ।

संवादमा सभापति देउवाले नक्साप्रति आफ्नो ध्यानाकर्षण भएको बताउँदै कालापानी र लिपुलेक नेपालको अविभाज्य भूमि रहेकोे तथ्य स्मरण गराएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

कांग्रेसले विज्ञप्तिमार्फत् कालापानी र लिपुलेक नेपालको अविभाज्य भूमि रहेको तथ्यमा प्रस्ट रहेको उल्लेख गर्दै नेपालको कुनैपनि भूमिमाथि हुने कुनैपनि ढंगको अतिक्रमण अस्वीकार्य हुने जनाएको छ ।

भारत सरकारले हालै सार्वजनिक गरेको नक्साका सन्दर्भमा सोही दिनै प्रवक्ता शर्माले ट्वीटमार्फत् पार्टीको औपचारिक धारणा सार्वजनिक गरेका थिए ।

यस्तो महत्वपूर्ण प्रश्नमा दल विशेषको मतभन्दा माथि उठेर देशको साझा मत एवं त्यस्तो मतको प्रतिनिधित्व गरेर कूटनीतिक माध्यमद्वारा हल खोज्न सरकार समर्थ हुनुपर्ने कांग्रेसको दृष्टिकोण रहेको उनले बताए । रासस