Logo २५ असार २०८३, बिहिबार | Fri Jul 10 2026


बागलुङमा १० जनाको उम्मेदवारी दर्ता


0
Shares

डम्मर बुढामगर (इमेज)

बागलुङ, कात्तिक २१ । बागलुङमा हुने उपनिर्वाचनका लागि ८ राजनीतिक दल र दुई स्वतन्त्रबाट गरी १० जनाले मनोनयनपत्र दर्ता गराएका छन् ।

आउँदो मंसिर १४ गते बागलुङ क्षेत्र नम्बर–२ ‘ख’मा प्रदेशसभा सदस्य पदका लागि उपनिर्वाचन हुँदैछ ।

बिहीबार प्रदेशसभा सदस्यका लागि सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय जनमोर्चाका साझा उम्मेदवार खिमविक्रम शाहीले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् ।

यस्तै, प्रतिपक्ष दल नेपाली कांग्रेसका तर्फबाट जीत शेरचनले उम्मेदवारी दर्ता गराएका छन् ।

शाही राष्ट्रिय जनमोर्चाका जिल्ला सदस्य हुन् । शेरचन कांग्रेस महाधिवेशन प्रतिनिधि हुन् ।

त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)का तर्फबाट निमबहादुर भण्डारी, समाजवादी पार्टीका तर्फबाट अशोककुमार विक, राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट गणेशबहादुर कुँवर, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट अनिलकुमारी राईले उम्मेदवारी दर्ता गराएका छन् ।

यसैगरी, राष्ट्रिय जनमुक्ति पार्टीबाट यामबहादुर आले, मंगोल नेसनल अर्गनाइजेसनबाट मित्रबहादुर मगर र स्वतन्त्ररुपमा शेरमान घर्तीमगर र सन्तोष भण्डारीले आफ्नो उम्मेदवारी दर्ता गराएका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

दलका तर्फबाट उम्मेदवारी दर्ता गराउनेहरु बाजागाजा र जुलुससहित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए ।

बागलुङ–२ ‘ख’बाट निर्वाचित प्रदेशसभा सदस्य टेकबहादुर घर्तीको निधन भएपछि रिक्त रहेको पदमा उपनिर्वाचन हुन लागेको हो ।