
अर्घाखाँची, जेठ २० । कोभिड–१९ संक्रमण बढ्दै गएपछि अर्घाखाँचीमा जेठ ३१ गतेसम्म निषेधाज्ञा थपिएको छ ।
बिहीबार बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी) को बैठकले नयाँ भेरियन्ट सहितको कोभिड–१९ तीव्र रूपले फैलिएकोले रोकथामका लागि १० दिन निषेधाज्ञा थपिएको प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलले जानकारी दिनुभयो ।
बैठकले निषेधाज्ञा अवधिभर आदेशको उल्लंघन गर्ने, अवरोध गर्ने, कालोबजारी गर्ने, अत्यावश्यक वस्तुमा जथाभावी मुल्यवृद्धि गर्ने, कृत्रिम अभाव सिर्जना गर्नेलाई संक्रामक रोग ऐन २०२० अनुसार कारबाही गर्ने चेतावनी दिएको छ ।
हाल जिल्लामा सक्रिय कोरोना संक्रमितको संख्या ३ सय ७१ पुगेको छ । संक्रमणका कारण हालसम्म ५४ जनाको मृत्यु भएको सहायक प्रमुख जिल्ला अधिकारी विनोद खनालले जानकारी दिनुभयो ।
यसअघि जारी गरिएको निषेधाज्ञा बिहीबार राति १२ बजेदेखि सकिँदैछ ।
प्रतिक्रिया दिनुहोस्