
काठमाडौं । दुई महिनायता मलेसियाबाट नेपाल आउने हिमालयन र नेपाल एयरलाइन्सका जहाज यात्रुले भरिभराउ छन् ।
नेपालबाट मलेसिया उडदा भने अधिकांश सिट खाली हुन्छन् । यतिखेर यी एयरलाइन्सको व्यापार बिदामा आएका कामदारले मात्रै धानिदिएका छन् ।
जेठ २ देखि नेपाल सरकारले मलेसिया जान चाहने नयाँ कामदारलाई श्रम स्वीकृति दिन बन्द गरेको छ ।
बिदामा फर्केका पुराना कामदारले पुनः श्रमस्वीकृति पाइरहेका छन् ।
नेपाली श्रमिकको सबभन्दा ठूलो रोजगारी गन्तव्य मलेसिया कहिले खुल्छ त ? यसको ठ्याक्कै जवाफ न नेपाल सरकारले दिएको छ न त मलेसिया सरकारले ।
किन रोकियो ?
श्रम मन्त्रालयले मलेसियामा नयाँ कामदार पठाउन रोक्नुका मुख्य दुई कारण छन् ।
पहिलो, कामदार पठाउन मलेसियाले नेपालसँग अनुमति नलिई एकतर्फी संयन्त्र स्थापना गर्नु । दोस्रो, ती संयन्त्रले श्रमिकबाट गैरकानुनी रूपमा अतिरिक्त शुल्क लिनु ।
जेठ १ सम्म मलेसियाका तर्फबाट स्थापित भीएलएन, वानस्टेप सेन्टर, माइग्राम्स, इमिग्रेसन क्लियरेन्स सिस्टम र बायोमेडिकलमार्फत स्वास्थ्य परीक्षण हुन्थ्यो ।
मलेसिया सरकारले दिएको ‘कलिङ भिसा’ राहदानीमा लगाउन यी ५ तह पार गर्नुपथ्र्यो ।
यी सबै पार गर्दा सात सय रुपैयाँको भिसा शुल्क १९ हजार ३ सय २३ रुपैयाँ पुग्थ्यो ।
श्रम मन्त्रालयले यसलाई कामदारमाथि हुने लुट ठहर गरी नियन्त्रणको कदम चाल्यो । यी संयन्त्रको स्थापना तत्कालीन श्रम राज्यमन्त्री टेकबहादुर गुरुङले गरिदिएका हुन् ।
उनले बायोमेडिकलमार्फत स्वास्थ्य परीक्षण गर्न अनुमति दिएपछि मलेसियाका अरू संयन्त्र खुल्न थाले । –कान्तिपुर दैनिकबाट
प्रतिक्रिया दिनुहोस्