
कैलाली, कात्तिक २० । सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशका १६ स्थानीय तहका स्वास्थ्य संस्थालाई सुविधासम्पन्न १६ ओटा एम्बुलेन्स हस्तान्तरण गरेको छ ।
बुधबार प्रदेशको सामाजिक विकास मन्त्रालयले प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री झपट बोहरा, सामाजिक विकासमन्त्री कृष्णराज सुवेदी, प्रदेशसभा सदस्य तथा स्थानीय तहका जनप्रतिनिधि र स्वास्थ्यकर्मीहरुको रोहबरमा एम्बुलेन्स हस्तान्तरण गरेको हो ।
प्रदेश सरकारले गएको असार ३१ गते पहाडी जिल्लाका लागि भनेर अत्याधुनिक सेवा–सुविधासहितका १६ ओटा एम्बुलेन्स खरिद गरेको थियो ।
सरकारले एम्बुलेन्स खरिदका लागि आर्थिक वर्ष २०७५/०७६ मा ६ करोड ४० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो ।
त्यसमध्ये ६ करोड २७ लाख ३८ हजार ५०० रुपैयाँ खर्च भएको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीले जानकारी दिए ।
यसअघि, सुदूरपश्चिम प्रदेशका अधिकांश स्वास्थ्य संस्थाका एम्बुलेन्समा साइरन र अक्सिजन सिलिन्डरबाहेकका सुविधा नहुँदा बिरामीले निक्कै सास्ती व्यहोर्दै आएका थिए ।
प्रतिक्रिया दिनुहोस्