Logo २५ कार्तिक २०८२, मंगलबार | Wed Nov 12 2025


वैकल्पिक राजनीतिका उज्ज्वल तारा अल्पायुमै अस्ताए


0
Shares

काठमाडौं । विवेकशील साझा पार्टीका संस्थापक संयोजक तथा तत्कालीन विवेकशील नेपाली दलका संस्थापक अध्यक्ष उज्ज्वल थापाको निधन भएको छ । दुई साताअघि कोरोना संक्रमित भएका थापाको ललितपुरस्थित मेडिसिटी अस्पतालमा मंगलबार अपराह्न ४:२५ बजे निधन भएको हो । मंगलवार नै पशुपति आर्यघाटमा उनको अन्त्येष्टि गरिएको छ ।

नागरिक अभियन्तासमेत रहेका ४४ वर्षीय थापाको निधनपछि प्रधानमन्त्री, विभिन्न राजनीतिक दलका शीर्ष नेता र विभिन्न क्षेत्रका व्यक्तित्व र हजारौँ साधारण नागरिकले फेसबुक, ट्विटरमा शोक व्यक्त गरेका छन् । थापाको निधनमा प्रधानमन्त्री केपी ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एमाले वरिष्ठ नेता माधव नेपाल, जसपाका संघीय अध्यक्ष डा। बाबुराम भट्टराई, राप्रपा अध्यक्ष कमल थापालगायतका नेता र नागरिक अभियन्ताहरूले दुःख व्यक्त गरेका छन् ।

कोरोना संक्रमित भएपछि जेठको पहिलो हप्ताबाटै उनी अस्पताल भर्ना भएका थिए । तर, गत सोमबार कोरोना परीक्षण गर्दा रिपोर्ट ‘नेगेटिभ’ आए पनि पार्टीका नेताहरूले सोमबार साँझ उनको शरीरमा अत्यधिक क्षति भइसकेको जानकारी दिएका थिए । उनलाई मेडिसिटी अस्पतालमा भेन्टिलेटरमा राखेर इसिएमओ पद्धतिबाट उपचार गरिँदै आएको थियो ।

उनको निधनपछि विवेकशील साझा पार्टीको आकस्मिक रूपमा बसेको बैठकले शोक–प्रस्ताव पारित गर्दै उनको निधनले राष्ट्रिय राजनीतिमा अपूरणीय क्षति पुगेको जनाएको छ । ‘थापाको निधनले सिंगो पार्टीपंक्ति स्तब्ध भएको छ । पार्टी केन्द्रीय समितिको आकस्मिक बैठकले पूर्वसंयोजक थापाको निधनमा गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ,’ पार्टी अध्यक्ष रवीन्द्र मिश्र र संयोजक मिलन पाण्डेले जारी गरेको शोक वक्तव्यमा छ, ‘नेपालमा वैकल्पिक राजनीति स्थापित गर्न उल्लेख्य भूमिका खेलेका थापाको निधनले राष्ट्रिय राजनीतिमा अपूरणीय क्षति पुगेको छ ।’

मिश्र र पाण्डेको शोक वक्तव्यमा खास गरी शान्तिपूर्ण र रचनात्मक प्रदर्शनका माध्यमबाट राजनीतिक, सामाजिक, आर्थिक, जनस्वास्थ्य सरोकारलगायतका मुद्दामा दलहरूले नागरिकको समर्थन हासिल गर्ने र सुधारात्मक कदमका लागि राज्यलाई दबाब दिने विधि स्थापित गर्न थापाको अहं भूमिका रहेको उल्लेख छ । ‘थापाले अंगाल्नुभएको सुसंस्कार, अहिंसा र निष्ठाको मार्गलाई विवेकशील साझा पार्टी अविचलित र प्रतिबद्ध भएर अवलम्बन गर्दै अगाडि बढ्नेछ,’ शोक वक्तव्यमा छ । पार्टीले थापाको स्मृति तथा सम्मानका लागि १३औँ दिनको पुण्यतिथिमा हाम्रा प्रत्येक सदस्य र शुभचिन्तकहरूलाई कम्तीमा एउटा वृक्षरोपण गर्न पार्टीका सम्पूर्ण नेतृत्वपंक्ति र सदस्यहरूलाई आह्वान गरेको छ ।

नयाँ पत्रिका