१९ जेष्ठ २०८०, शुक्रबार | Fri Jun 2 2023


सभामुख र उपसभामुख एउटै पार्टीको भएसम्म आन्दोलन जारी : देउवा


0
Shares

चितवन, साउन ११ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सभामुख र उपसभामुख एउटै पार्टीको भएसम्म कांग्रेसको आन्दोलन जारी रहने बताएका छन् ।

शुक्रबार चितवनमा पत्रकारसँग कुराकानी गर्दै उनले भने–‘सभामुख र उपसभामुखमध्ये एउटा छोड्नैपर्छ, उहाँहरुले । यो हाम्रो मुख्य माग हो ।’

डा. गोविन्द केसीसँग भएको सहमति स्वागतयोग्य भएको भन्दै उनले कार्यान्वयन गर्न सरकारलाई सुझाव दिए । केसीको माग पूरा गराउन विपक्षी दल कांग्रेसले पनि सहयोग गरेको उनको भनाइ थियो ।

डेमोक्रेटिक लयर्स एसोसिएसन नेपालको शनिबारबाट गैंडाकोटमा सुरु हुने राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्न आएका देउवाले तीनपांग्रे सवारीचालकले गरेको शान्तिपूर्ण आन्दोलनमा गोली चलाइएको भन्दै विरोध जनाए ।

यस्तै, नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले साउन १५ गते गरिने आन्दोलन सरकारको विरोधस्वरुपको ‘टोकन’ भएको बताए ।

देशमा महँगी बढेको, जथाभावी कर लगाइएको, भ्रष्टाचार बढेको, सरकार स्वेच्छाचारी ढंगले अघि बढेकोजस्ता आरोप उनले लगाए ।

फरक प्रसंगमा उनले अब हुने महासमिति बैठकले पार्टीभित्रको विवाद सल्टाउने बताए । रासस