
-हरिविनोद अधिकारी
पत्रकारिता र पत्रकारको सुरक्षा नहुने हो भने आजको विश्व कुनै पनि प्रकारको सूचनाबाट सूचित हुन पाउँदैन । प्रत्येक वर्षको नोभेम्बरलाई पत्रकार र पत्रकारिताको सुरक्षाको अभियानको महिनाको रुपमा लिइने चलन चलेको छ । यसको कारण हो-सत्य र तथ्यको खोजी गर्ने पत्रकार, सञ्चारकर्मी र प्राविधिकहरुमाथि कुनै पनि प्रकारको हिँसात्मक व्यवहार नहोस् । तर भएकै छ । भनिन्छ-प्रत्येक वर्ष एउटा होनहार खोजीमा लागेको पत्रकारलाई पुलित्जर पुरस्कार दिइन्छ तर औसतमा एकसय जना पत्रकारहरुलाई गोली हानेर मारिन्छ ।
सन् २०१८को नोभेम्बरदेखि २०१९को अक्टुबरसम्ममा ४० पत्रकारहरुको हत्या गरिएको छ भनेर इन्टरनेसनल प्रेस इन्स्टिच्युट, भियनाले जनाएको छ । आइ पी आइ ले स्पष्ट भाषामा चेतावनी दिँदै भनेको छ-यस्तै चालाले विश्वको अभिव्यक्ति स्वतन्त्रताको अवस्था नाजुक बन्नेछ र कुनै पनि प्रजातन्त्रले प्रेसको रक्षा गर्न नसकेको उदाहरण प्रस्तुत हुनेछ । हालको अवस्थामा सोमालिया र मेक्सिकोमा पत्रकारहरुप्रतिको सहिष्णुतामा एकदमै कमी देखिएको छ ।
मालीमा २ नोभेम्बर, २०१३मा मारिएका दुईजना फ्रेन्च पत्रकारहरुको सम्झनामा संयुक्त राष्ट्रसंघले त्यो दिनलाई पत्रकारहरु माथि हुने आक्रमणको विरुद्धमा दण्डहीनताको अन्त्यको दिवस मनाउने गरेको छ । अर्थात् विश्वभर नै पत्रकारहरु माथि हुने हमलाका वारेमा वास्ता गरिँदैन भनेर चेतना अभिवृद्धिका लागि आम नागरिकलाई, सरोकारवालालाई र पत्रकार स्वयंलाई समेत सचेतीकरण गर्ने जिम्मा हामी सबैको हो कि दण्डहीनताका विरुद्धमा सचेत नागरिकहरुको ऐक्यबद्धता जरुरी छ ।
वास्तवमा २००९ मा फिलिपिन्सको निर्वाचनको समयमा एक बस पत्रकारहरुलाई विद्रोहीहरुले वा निर्वाचन विरुद्धका मानिसहरुले अपहरण गरे र केही समयपछि ३४ जना पत्रकारहरुको हत्या गरे । त्यसको छानबिन भएन भनेर कम्बोडियामा २०११ भएको आइफेक्सको सम्मेलनले छानबिनको माग गर्यो र प्रत्येक वर्ष नोभेम्बरमा पत्रकार विरुद्ध हुने कुनै पनि आक्रमणको विरुद्धमा अभियान सञ्चालन गर्ने निधो गरेको थियो । पत्रकारविरुद्धमा गरिने कुनै पनि प्रकारको अपराधको अन्त्यलाई मुख्य मुद्दा बनाएर अन्तराष्ट्रिय समुदायहरुले युनेस्कोलाई मनाएका थिए जसका लागि युनेस्कोले पत्रकारहरुको सुरक्षाका लागि अपनाउनु पर्ने उपायहरुका विषयमा काम पनि गरिरहेको छ । पछि संयुक्त राष्ट्रसंघले नै नोभेम्बर २लाई प्रतीकात्मकरुपमा दण्डविहीनता विरुद्धको दिवस मनाउन प्रस्ताव नै पारित गर्यो र यो अहिले विश्वव्यापी अभियानको रुपमा देखिएको छ ।
संयुक्त राष्ट्रसंघका महासचिव आन्तोनियो गुथरेसले आफ्नो पत्रकारविरुद्धको अपराधमा दण्डहीनताको अन्त्यका लागि मनाउन लागिएको अन्तराष्ट्रिय दिवस २०१९मा दिएको सन्देशको पूर्ण पाठमा ( २ नोभेम्बर, २०१९) भनेका छन् -अभिव्यक्ति स्वतन्त्रता र स्वतन्त्र मिडिया, प्रजातन्त्रको प्रवद्र्धन, प्रजातन्त्रको समर्थन र दिगो विकासका लागि तय गरिएका लक्ष्यहरु प्राप्तिका लागि अति नै आवश्यक छन् ।
हालैका वर्षहरुमा पत्रकारहरु र मिडियामाथि भौतिक आक्रमणका घटनाहरु बढिरहेका छन् जसले पत्रकारहरु र सञ्चारकर्मीहरुको सुरक्षामा गम्भीर समस्या देखिएको छ । उनीहरुलाई उनीहरुको महत्वपूर्ण कामका लागि पहुँच नदिने, पक्रने, जेलमा कोच्ने, मार्ने धम्की दिने, खोजी पत्रकारितामा बाधा गर्ने अनि पत्रकारहरुविरुद्ध अपराध गर्नेलाई कुनै कार्बाही नगर्ने काम भइरहेको पाइन्छ ।
महिला पत्रकारहरु माथि झन बढी नै अपराधका घटनाहरु भएको पाइन्छ । खासगरी लैँगिक विभेदजन्य हिँसा जस्तै यौन हिँसा, यौनजन्य क्रियाकलाप र यौनजन्य हमला भएको पाइन्छ जसमा यौनजन्य धम्कीका घटनाहरु पर्छन् । जब पत्रकार आक्रमणको निसानामा पर्छ, उसमाथि आक्रमण हुन्छ, त्यसको मूल्य पूरा समाजले बेहोर्नु पर्छ । पत्रकारको सुरक्षाविना हामीले सुसूचित हुने कल्पनासम्म पनि गर्न सक्दैनौँ जसले हाम्रो निर्णय गर्ने क्षमतामा प्रत्यक्ष नकारात्मक प्रभाव परेको हुन्छ । पत्रकारले सुरक्षितरुपमा काम गर्ने वातावरण नबनुन्जेलसम्म विश्वभर अन्यौल र कुसूचित भइरहने अवस्था रहिरहन्छ । त्यसैले पत्रकारमाथि हुने अपराधको दण्डहीनताका विरुद्धमा हामी सबै पत्रकारहरु सँग सत्यका लागि र न्यायका लागि एकताबद्ध होऔँ ।
कुरो राष्ट्रसंघले के भन्यो वा अन्य अन्तराष्ट्रिय सँस्थाहरुले के गरे भन्नुभन्दा पनि हामी पत्रकारहरुले नै कसरी आफ्नो सुरक्षाको प्रवन्धलाई अझ कसिलो बनाउन सकेका छौँ भन्ने पनि महत्वपूर्ण छ । सरकार संवेदनशील हुनु जरुरी छ किनभने कार्बाही गर्ने अधिकार सरकारसँग मात्र छ । तर १०० ओटा हत्याका घटनामा ९० प्रतिशत मुद्दामा कुनै पनि सुनुवाइ वा कार्बाही नभएको प्रमाण अन्तराष्ट्रिय स्तरमा नै देखिएको छ। दक्षिण अमेरिकाको अवस्था अत्यन्तै नाजुक छ । जहाँ ड्रगको व्यापार हुन्छ, जहाँ हतियारको अवैध व्यवसाय हुन्छ, जहाँ मानव बेचबिखन हुन्छ, जहाँ गृह युद्ध हुन्छ, जहाँ निर्वाचनमा धाँधली गर्नेहरु पुरुषार्थी हुन्छन् र तिनैले जितेर साँसद तथा मन्त्रीपद पाएका हुन्छन्, ती देशमा पत्रकार विरुद्धका घटनाहरु प्रशस्तै हुन्छन् र तिनको कुनै सुनुवाइ र कार्बाही हुँदैन भन्ने प्रमाण जताततै पाइन्छ ।
त्यसो भनेर पत्रकारले न त खोजी गर्न छोड्ने कुरा आउँछ, न त अपराधको अन्त्यका लागि अभियान नै छोड्ने कुरा आउँछ । नेपालको २०५२/२०६४को समयमा भएका पत्रकारविरुद्धका घटनाहरुको अझै कुनै सुनुवाइ भएको छैन । हत्या गरिएकाहरुको हत्यारा स्वतन्त्ररुपमा घुमेको देखिन्छ भन्ने परिवार जनको आरोप छ, बेपत्ता पारिएकाहरुको न त लास, न सास देखिएको छ । यसरी दण्डहीनताले प्रश्रय पाएकोले ती परिवारहरु अहिले एकीकृत प्रयासमा लागेका छन्ज-सरी हुन्छ अपराधीले दण्ड पाउनु नै पर्छ ।
संक्रमणकालीन न्याय भनिएको छ तर घटना घटेर बसौँै बितिसक्दा पनि कुनै छानबिन हुन सकेको छैन । सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरुको खोजी गर्ने आयोग गठन भएर पनि काम गर्न नसक्दै विघटन भएको छ, अझै गठन हुन सकेको छैन । सायद अपराधीहरुले यसरी लामो समयसम्म कुनै कार्बाहीमा पर्नु नपरेकोले नै यसैलाई दण्डहीनता भनिएको हो र छिटो छिटो दण्डहीनताको अन्त्य भयो भनेमात्र पत्रकारहरुले निर्धक्कसँग काम गर्ने वातावरण बन्नेछ । पत्रकारहरुले स्वतन्त्रता पूर्वक काम गर्ने वातावरण बनेपछि मात्र प्रजातन्त्रको अनुपम सुन्दरता अभिव्यक्ति स्वतन्त्रताले अभ्यास गरेको ठहर्नेछ । समाजको ऐना भनेको पत्रकारिता हो भने त्यो ऐनालाई उजिल्याउने नै पत्रकार हो जसले सत्य र तथ्यका आधारमा जनतालाई सुसूचित गरेको हुन्छ ।
पत्रकारहरुको विरुद्धमा गरिने कुनै पनि प्रकारको बाधा र हिँसाको अन्त्यका लागि पनि दण्डहीनता विरुद्धको आम चेतना वृद्धि गरौँ र समाजका सबै वर्गलाई यसका लागि आवाज उठाउने बनाऔँ । चेतनाले जुन काम गर्नेछ, त्यसकाले दण्डहीनताको अन्त्यका लागि काम अवश्य गर्नेछ ।
प्रतिक्रिया दिनुहोस्