काठमाडौं । वीर अस्पतालको पहिलो तलाको उत्तरपूर्वमा अति अतिविशिष्ट (भीभीआईपी) कक्ष छ ।
हरेक कक्षको बाटो (प्यासेज) मा लचकदार गलैंचा बिच्छ्याइएको छ । बिरामी सुत्ने कोठामा अत्याधुनिक उपकरणजडित छ । बाथटबसहितको कोठाभित्रै (अट्याच) बाथरुम र शौचालय छ ।
स्टोरसहितका आठवटा भीभीआईपी कक्षका विभिन्न कोठामा आगन्तुकका लागि महँगो सोफा छ । अस्पतालको सुविधासम्पन्न भीभीआईपी शड्ढयामा तीस वर्षयता कोही पनि सेवा लिन पुगेका छैनन् ।
तर पनि हरेक साताको कम्तीमा दुईपटक पुछपाछ भइरहेको छ । महँगा बिलासी सोफामा धुलो पर्न नदिन प्लास्टिकले बेरेर राखिएको छ । भीभीआईपी कक्षकी इन्चार्ज सीता अर्याल भन्छिन्, ‘ठूला व्यक्ति आउन सक्ने भएकाले सफा चिटिक्क त पार्नैपर्यो नि ।’
अस्पतालले तयार पारेको निर्देशिकाअनुसार भीभीआईपी व्यक्तिमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष, पूर्वराष्ट्रपति र बहालवाला उपप्रधानमन्त्रीसमेत पर्छन् ।
गत महिना राष्ट्रपति विद्यादेवी भण्डारीको स्वास्थ्य परीक्षण त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा भएको थियो। प्रधानमन्त्री केपी ओली पनि शिक्षण अस्पताल र ग्रान्डी इन्टरनेसनल अस्पताल पुगेका छन् । प्रतिनिधिसभाका निवर्तमान सभामुख कृष्णबहादुर महरा उच्च रक्तचाप भएको जनाउँदै नर्भिक इन्टरनेसनल अस्पतालमा बसे ।
पूर्वराष्ट्रपति रामवरण यादव दाँतको उपचारका लागि वीर अस्पताल गएका थिए। तर उनले पनि भीभीआईपी कक्ष उपयोग गरेनन् । अन्नपूर्ण पोष्ट दैनिकबाट










प्रतिक्रिया दिनुहोस्