
काठमाडौं । डायलाइसिसको उचित प्रबन्ध नहुँदा कलाकार आदर्श मिश्राका बाबुको निधन भएको समाचारले देशकै ध्यान तानिएको छ । विनोदलाई बचाउन आदर्शको परिवारले गरेको अथक संघर्ष वियोगमा सकिएको छ । तर, देशको दुःखान्त अझै जारी छ । किनकि देशको स्वास्थ्य प्रणाली असंवेदनशील हुँदा १५ हजार परिवार मिर्गौला प्रत्यारोपण र डायलाइसिसको पर्खाइमा पिल्सिएका छन् ।
देशमा मिर्गौलाका करिब ८५ हजार बिरामी भएको सरकारी तथ्यांक छ । त्यसमध्ये १५ हजार नियमित डायलाइसिसमा छन् । त्यसमध्ये पनि पाँच हजार आठ सय ९६ जनालाई विपन्न भएको भनेर सरकारले नै सूचीकृत गरेको छ । तर, डायलाइसिसलाई व्यवस्थित गर्न र प्रत्यारोपणको गति बढाउन सरकारले पहल गरेको छैन । विपन्न बिरामीले उपचार पाउन सक्ने वीरमा त प्रत्यारोपण नै अवरुद्ध छ ।
बिरामीका लागि यो जीवन–मरणको विषय हो, तर सरकारका लागि खेलबाड । सरकार यो विषयमा संवेदनशील हुन्थ्यो भने वीरजस्तो विपन्नको सहारा अस्पतालमा मिर्गौला प्रत्यारोपण बन्द हुने थिएन । हो, अहिलेसम्म डेढ सय मिर्गौला प्रत्यारोपण गरेको वीरमा डेढ वर्षदेखि प्रत्यारोपण बन्द छ ।
१३ वर्षअघि २००८ डिसेम्बरदेखि वीरले नेपालमा पहिलोपटक मिर्गौैला प्रत्यारोपण सेवा सुचारु गरेको हो । डा। पुकारचन्द्र श्रेष्ठको नेतृत्वमा सन् २०१२ सम्म आइपुग्दा ९९ वटा प्रत्यारोपण भइसकेका थिए । त्यही वेला भक्तपुरमा ‘मानव अंग प्रत्यारोपण केन्द्र’ स्थापना भएपछि डा। पुकारलाई सरुवा गरिएको थियो । त्यसपछि आठ वर्षमा वीरमा ५५ जनाको मात्र मिर्गौैला प्रत्यारोपण भयो । तर, सेवा बढाउनुपर्नेमा प्रत्यारोपण नै ठप्प गरिएको छ ।
वीरमा आठ वर्षमा ५५ प्रत्यारोपण भए भने त्यही अवधिमा भक्तपुरमा सात सयभन्दा बढी प्रत्यारोपण भएका थिए । डा। पुकारलाई सरकारले अघिल्लो वैशाखमा वीरमा ल्याएको हो । तर, एक वर्षसम्म प्रयास गर्दा पनि प्रत्यारोपणको जिम्मेवारी नपाएकोमा उनी दुःखी छन् ।
प्रतिक्रिया दिनुहोस्