६ भाद्र २०८२, शुक्रबार | Sat Aug 23 2025


विदेश पठाइदिने भन्दै ठगेको आरोपमा दम्पती पक्राउ


0
Shares

काठमाडौं, कात्तिक १७ । विदेश पठाइदिने भनेर ठगी गरेको आरोपमा एक दम्पतीलाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेको छ ।

मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१२ बस्ने विजय थिङ र उनकी श्रीमती सजना थिङलाई पक्राउ गरिएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सहकुलबहादुर थापाले जानकारी दिए ।

उनकाअनुसार उनीहरुले बैंकिङ कारोबार ललितपुरमा गरेको पाइएकाले आरोपीलाई थप कारबाहीका लागि आइतबार महानगरीय प्रहरी परिसर ललितपुर पठाइएको छ ।

वैदेशिक रोजगारका सिलसिलामा कामदार भिसामा आकर्षक तलब पाउने प्रलोभन देखाएर लाओस पठाइदिने भनी उनीहरुले पीडितबाट रु २४ लाख २० हजार ठगी गरेको खुल्न आएको महाशाखाले जनाएको छ ।

पीडितलाई लाओस र भारत पुर्‍याएर अलपत्र पारी उनीहरु फरार भएको आरोप छ ।

रामेछापका नविनकुमार तामाङसमेत चारजनाले गत असोज ५ गते दिएको जाहेरीका आधारमा महाशाखाको टोलीले उनीहरुलाई यही कात्तिक १५ गते हेटौंडाबाट पक्राउ गरेको थियो ।

ठगी प्रमाणित भए अधिकतम् पाँच वर्ष कैद तथा विगो र जरिवानासमेत हुने व्यवस्था छ । रासस