६ भाद्र २०८२, शुक्रबार | Sat Aug 23 2025


महराको मुद्दा ‘हेर्दाहेर्दै’मा


0
Shares

काठमाडौं, कात्तिक १७ । जबर्जस्ती करणी उद्योगको मुद्दा लागेका निवर्तमान सभामुख कृष्णबहादुर महराको मुद्दामाथि आइतबारदेखि थुनछेक बहस सुरु भएकामा ‘हेर्दाहेर्दै’मा राखिएको छ ।

आइतबार बिहान काठमाडौं जिल्ला अदालतका न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासमा सुरु भएको थुनछेक बहसमा सरकारी वकिलका तर्फबाट चारजनाले बहस गरेका थिए ।

सरकारी वकिलहरुको बहस सकिएपछि महरापक्षका वकिलहरुको बहस सुरु भएको थियो ।

महराको पक्षमा आइतबार भोजराज आचार्य र लवप्रसाद मैनालीले बहस गरे भने सोमबार रमन श्रेष्ठ, शेरबहादुर केसी, सविता भण्डारीले बहस गर्ने बुझिएको छ ।

गएको शुक्रबार काठमाडौं जिल्ला अदालतमा बयान लिनेक्रम सकिएपछि आज उक्त मुद्दामाथि बहस थालिएको हो ।

महराको पक्षका वकिलहरुको बहस नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको हो ।

महराको पक्षमा बहस गर्न ३२ जना कानुन व्यवसायीले नाम लेखाएकामा त्यसलाई पाँचजनामा सीमित गरिएको छ ।

थुनछेक बहसपछि महरा साधारण तारेखमा छुट्ने, धरौटीमा छुट्ने वा कारागारमा जाने भन्ने टुंगो लाग्नेछ ।

प्रहरीले दर्ता गरेको अभियोजनपत्रअनुसार महरामाथि जबर्जस्ती करणी उद्योगको मुद्दासहितको फाइल सरकारी वकिलको कार्यालयले काठमाडौं जिल्ला अदालतमा पेस गरेको थियो ।

संसद सचिवालयकी महिला कर्मचारी रोशनी शाहीमाथि यौन दुर्व्यवहार गरेको आरोप लागेपछि गएको असोज १९ गते महरा बालुवाटारस्थित सभामुखको निवासबाट पक्राउ परेका थिए ।

पक्राउलगत्तै स्वास्थ्यमा खराबी देखाउँदै उनी थापाथलीस्थित नर्भिक अस्पतालमा बस्दै आएका छन् ।