३ असार २०८२, मंगलबार | Tue Jun 17 2025


स्वास्थ्य मापदण्ड पालना गरेर विकास निर्माणको काम सुरु गरेको प्रशासनको दावी


0
Shares

राजेश जीसी

प्यूठान । कोरोना भाइरसको दोस्रो लहरले मुलुकमा महामारीको रुप लिएको छ । महामारी नियन्त्रणका लागि प्यूठानमा पनि जेठ १५ गतेसम्म निषेधाज्ञा जारी भएको छ ।

संक्रमणका कारण कतिपय विकास निर्माणका काम प्रभावित भए पनि प्यूठानमा सञ्चालित विकास निर्माणको कामलाई निरन्तरता दिइएको छ ।

जिल्ला कोभिड संकट व्यवस्थापन समितिले स्वास्थ्य सम्बन्धी प्रोटोकलको पालना गर्न, श्रमिकलगायत कार्यस्थलमा रहने सवैको दैनिक ज्वरो नाप्न, नियमित स्वास्थ्य जाँच गर्न, मास्क, स्यानिटाइजर तथा साबुनपानीको प्रयोग गर्न, सामाजिक दुरी कायम गर्नुपर्ने, धेरै जनाको समुह हुन नपाउने र एम्बुलेन्स तयारी अवस्थामा राख्नुपर्ने लगायतका शर्त राखेर काम सञ्चालन गर्न दिएको प्रमुख जिल्ला अधिकारी खिमराज भुषालले बताउनुभयाे ।

कोरोना महामारीका बेला पनि काम गर्न पाउदा एकातर्फ कामदार खुशी छन् भने अर्कोतर्फ ठेकेदार कम्पनीले क्वारेन्टिन बाहेक स्वास्थ्य सुरक्षाका लागि आवश्यक पर्ने माक्स, सेनिटाइजर, थर्मामिटरलगायतका सामाग्री उपलब्ध नगराएको कामदारले गुनासो गरेका छन् । तर पनि स्वास्थ्य सावधानी अपनाएर काम गरेको उनीहरु बताउँछन् ।

९ वटा स्थानीय तह रहेको प्यूठानमा संघ, प्रदेश र स्थानीय तहका साना ठुला गरी झण्डै ३ दर्जनभन्दा धेरै योजनाहरुमा काम भइरहेको छ । कोरोना भाइरसको संक्रमण समुदायस्तरमा फैलिरहेका बेला स्वास्थ्य सावधानी अपनाएर काम सम्पन्न गर्न ठेकेदार कम्पनी, श्रमिक र सम्बन्धित निकायले ध्यान दिन आवश्यक छ ।