
मनीष गुप्ता (इमेज)
कपिलवस्तु, कात्तिक १६ । कपिलवस्तुको कृष्णनगर घटनाका मुख्य आरोपी जमाल शाहलाई प्रहरीले पक्राउ गरेको छ ।
शाहलाई शनिबार दिउँसो कृष्णनगरस्थित उनकै घरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
लक्ष्मीपूजाको मूर्ति विसर्जनकाक्रममा यहाँ दुई समूहबीच विवाद भएको थियो । प्रदर्शन र झडपसम्म भयो । त्यसपछि स्थानीय प्रशासनले कर्फ्यु लगायो । प्रदर्शन रोकिएन ।
सोक्रममा बिहीबार दिउँसो ‘प्रहरीले चलाएको’ गोली लागी २० वर्षीय भारतीय नागरिक सुरजकुमार पाण्डेको ज्यान गएको थियो । सीमा क्षेत्र बढनीमा घर भएका उनी कृष्णनगरमा चियापसल सन्चालन गरेर बस्दै आएका थिए ।
उक्त घटना निम्त्याउने मुख्य व्यक्तिकारुपमा पक्राउ परेका शाहउपर आरोप लागेको छ ।
शाहलाई कृष्णनगरबाट जिल्ला प्रहरी कार्यालय तौलिहवा ल्याइएको प्रहरीले जनाएको छ ।
बिहीबार राति दुई पक्षबीच १० बुँदे सहमति भएसँगै लक्ष्मीको मूर्ति विसर्जन गरिएको थियो । ‘पोस्टमार्टम’पछि मृतकका आफन्तले शव बुझिसके । स्थानीय प्रशासनले कर्फ्युसमेत हटाइसक्यो ।
प्रतिक्रिया दिनुहोस्