१८ बैशाख २०८२, बिहिबार | Thu May 1 2025


होम आइसोलेसनमा बसेका कोरोना संक्रमितका घर–घरमा परामर्श दिँदै बागलुङकी स्वास्थ्यकर्मी खड्का


0
Shares

डम्मर बुढा मगर
बागलुङ । बागलुङकी नितु खड्का स्वास्थ्यकर्मी हुन् । स्वास्थ्यकर्मीसँगै समाज सेवामा पनि उहाँको चाह छ । नेपालमै पहिलो पटक प्राथमिक उपचार सामग्री (फस्र्ट एड बक्स) प्रत्येक घर–घरमा पुर्‍याउने अभियानमा आवद्ध उहाँ अहिले घर–घरमा पुगेर कोरोना संक्रमितको सेवामा तल्लीन हुनुहुनछ ।

बीएनए नर्स खड्का तीन वर्ष अघिदेखि बागलुङका विभिन्न सङ्घसंस्थासँग मिलेर विद्यालय, सवारी साधन र घर–घरमै प्राथमिक उपचार सामग्री (फस्र्टएड बक्स) वितरणमा सरिक भएकी हुन् ।

श-शुल्क उपचार गर्न पनि धौ–धौ परिरहेको अवस्थमा उहाँले भने घर–घर पुगेर निःशुल्क रूपमै स्वास्थ्य सेवा प्रदान गरिरहनुभएको छ । कोरोनाको दोस्रो लहरसँगै संक्रमितको संख्या बढ्दै गएपछि सामाजिक दायित्व बोध गरेर निःशुल्क सेवा दिँदै आएको स्वास्थ्यकर्मी खड्काको भनाइ छ ।

अहिले कोरोना संक्रमण पुष्टि भएर होम आइसोलेसनमा बसेकाहरूले उहाँलाई दैनिक फोन गर्छन् । उहाँ पनि संक्रमितको जाँच र मनोपरामर्श दिन उनी पुग्छिन् । जसले गर्दा कोरोना संक्रमितहरूको मनोबल बढेको छ । कोरोना महामारीमा ग्रामीण क्षेत्रहरूमा स्वास्थ्यकर्मीको अभाव भएकाले सङ्क्रमितको उपचारमा सहयोग गर्ने लक्ष्य लिएर अभियानमा लागेको उहाँ बताउनुहुन्छ ।

संक्रमण हुनसाथ अक्सिजन लगाउनुपर्ने र अस्पताल पुग्नुपर्ने गलत धारणा विकसित भइरहेको र त्यसकै कारण अस्पताल भरिन थालेको उहाँको बुझाइ छ । संक्रमितको रक्तचाप र अक्सिजनको मात्रा ठीक भए आत्तिन नपर्ने उहाँको सल्लाह छ ।

जिल्लाका अधिकांश सङ्क्रमित होम आइसोलेसनमा छन् । उनीहरूलाई सामान्य औषधि र मनोपरामर्शले कोरोना जित्न सहज बनाउन खड्काले अभियान सुरु गर्नुभएको हो । संक्रमणको बेलामा औषभिन्दा बढी मनोपरामर्श आवश्यक रहेको उहाँको निष्कर्ष छ ।

मनोपरामर्शसँगै ज्वरो, रुघाखोकी, ढाड दुखाइ, भिटामिन सीको कमीलगायतका समस्या देखिएकाले सोहीअनुसार औषधि सिफारिस गर्ने गरेको उहाँ बताउनुहुन्छ । नितुले चलाएको जस्तो घर–घरमा स्वास्थ्य सेवा अन्य स्वास्थ्यकर्मी र स्थानीय पालिकाहरूबाट हुन सके होम आइसोलेसनमा बसेका संक्रमितहरूलाई सहज हुने थियो ।