
प्रकाश मैनाली (इमेज)
सर्लाही, साउन ११ । ५० लाख रुपैयाँ नदिए अपहरण गर्ने भन्दै फोनबाट धम्की दिएको आरोपमा दुईजना सर्लाहीको लालबन्दीबाट पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सर्लाहीको बागमती नगरपालिका–४ का ३१ वर्षीय शत्रुघन महतो र धनुषाको बटेश्वर गाउँपालिका–३ घर भइ बागमती नगरपालिका–१२, कर्मैया बस्ने २३ वर्षीय सन्तोष महतो रहेका छन् ।
उनीहरुले लालबन्दी नगरपालिका–९ बस्ने जग्गाको कारोबारसमेत गर्ने एकजना शिक्षकलाई पटक–पटक ‘बाबा ग्याङ’को मान्छे भन्दै धमक्याउँदै रकम मागेका जनाइएको छ ।
ती शिक्षकले दिएको निवेदनका आधारमा उनीहरुलाई बिहीबार दिउँसो लालबन्दी नगरपालिका–७, मरिण जाने चोकबाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी निरीक्षक किरणप्रसाद न्यौपानेले जानकारी दिए ।
पक्राउ परेका दुवैजनाविरुद्ध शुक्रबार जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्