
रौतहट । हत्या आरोपमा प्रहरी हिरासतमा रहेका निलम्बित सांसद मोहम्मद अफताब आलमको संलग्नतामा रौतहट बम विष्फोटका घाइतेलाई इटाभट्टामा जलाएको प्रहरीको अनुसन्धानले देखाएको छ ।
१२ वर्षअघि रौतहटको राजपुरमा भएको वम विस्फोटका मृतक र घाइतेलाई इट्टाभट्टामा जलाएको प्रहरीले तयार पारेको प्रतिवेदनले ठहर गरेको हो ।
तत्कालीन प्रहरी अधिकारी, प्रत्यक्षदर्शी तथा पीडित परिवारको बयानका आधारमा प्रतिवेदन तयार पारिएको प्रहरीले जनाएको छ ।
प्रतिवेदन आजै सरकारी वकिलको कार्यालयमा बुझाएको जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी नवीन कार्कीले जानकारी दिए ।
सरकारी वकिलको कार्यालयमा बुझाइएको अनुसन्धान प्रतिवेदनका आधारमा सोमबार मुद्दा दर्ताको प्रक्रिया सुरु हुनेछ ।
आलमविरुद्ध बम विष्फोट, ज्यान मार्ने उद्योग र कर्तव्य ज्यान गरी तीन मुद्दा लगाउन प्रहरीले राय दिएको छ ।
प्रहरीको अनुसन्धानमा आलम र फरार रहेका अरु तीन जनालाई घटनाको मुख्य दोषी किटान गरिएको छ । प्रतिवेदनमा मृतकको संख्या भने यकिन गरिएको छैन ।
प्रतिक्रिया दिनुहोस्