सन्दीपको ‘कीर्तिमान’, बने सबैभन्दा धेरै राष्ट्रको भ्रमण गर्ने खेलाडी • Image Khabar Image Khabar


सन्दीपको ‘कीर्तिमान’, बने सबैभन्दा धेरै राष्ट्रको भ्रमण गर्ने खेलाडी


Imagekhabar
१४ कार्तिक २०७६, बिहीबार २०:१३

सन्दीपको ‘कीर्तिमान’, बने सबैभन्दा धेरै राष्ट्रको भ्रमण गर्ने खेलाडी

काठमाडौं, कात्तिक १४ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी सन्दीप लामिछाने सबैभन्दा धेरै राष्ट्रमा क्रिकेट खेल्ने खेलाडी बनेका छन् ।

एक सर्वेक्षणअनुसार सन्दीप ट्वेन्टी–२० क्रिकेटका लागि धेरै राष्ट्रको भ्रमण गर्ने खेलाडी बनेका हुन् ।

‘क्रिकेट मन्थ्ली’ले निकालेको सर्वेक्षणअनुसार सन्दीपले ८ राष्ट्रमा क्रिकेट खेलेका छन् ।

सन् २०१८ को अक्टोबरदेखि २०१९ को सेप्टेम्बरसम्म एक वर्षको अवधिमा उनले ८ राष्ट्रको भ्रमण गरेको सर्वेक्षणले देखाएको हो ।

सन्दीपसँगै अफगानिस्तानका नाजिबुल्लाह जाड्रनले पनि ८ राष्ट्रको भ्रमण गरेका छन् ।

सन्दीपले भारतको ‘आइपीएल’, बंगलादेशको ‘बीपीएल’, पाकिस्तानको ‘पीएसएल’, अफगानिस्तानको ‘एपीएल’, युएईको ‘टी–२०’ लिग, अष्ट्रेलियाको ‘बिग बास’, वेस्ट इन्डिजको ‘सीपीएल’ र क्यानडाको ‘ग्लोबल टी–२०’ खेल्नेक्रममा ती राष्ट्रहरुको भ्रमण गरेका हुन् ।

धेरै टिमबाट खेल्ने खेलाडीको दोस्रो स्थानमा

सन्दीप सर्वाधिक धेरै टिमबाट खेल्ने खेलाडीको भने दोस्रो स्थानमा छन् । सन्दीपले सात टिमबाट खेलेका छन् ।

सन्दीपले नेपालसहित दिल्ली क्यापिटल्स, मेलबर्न स्टार्स, लाहोर क्वालान्डर्स, बर्वाडोस ट्रिडेन्टस, सिलेड सिक्सर्स र नागाहर लियोपार्टसबाट खेलेका छन् ।

सर्वाधिक धेरै टिमबाट खेल्ने क्रिकेटरको शीर्ष स्थानमा ८ टिमबाट अफगानिस्तानका क्वाइस अहमद रहेका छन् ।

सर्वाधिक बल बलिङ गर्ने खेलाडीको दोस्रो स्थानमा

सन्दीप टी–२० मा सर्वाधिक बल बलिङ गर्ने खेलाडीको दोस्रो स्थानमा रहेका छन् । सन्दीपले ९८५ बल बलिङ गरेका छन् । शीर्ष स्थानमा रहेका अफगानिस्तानका रशिद खानले १३ सय ५५ बल बलिङ गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्