Logo १० कार्तिक २०८३, मंगलबार | Wed Oct 28 2026


खानेपानीमा पनि सिन्डिकेट : पानी थाप्नै रोक लगाएपछि धमिलो पानी पिउन बाध्य चैनपुरका डेरावाल


0
Shares

डीबी विष्ट
बझाङ । परिवारसहित सदरमुकाम चैनपुरमा डेरमा बस्दै आएका लक्ष्मी ठाकुरको घरमा पानी नआएको तीन महिना पुग्यो । चैनपुर खानेपानीका कर्मचारीलाई कैयौंपटक गुनासो गर्दा पनि धारामा पानी नआएपछि उनको परिवार अहिले सेती नदीको धमिलो पानी पिउन बाध्य छ ।

यो पीडा उनको मात्रै होइन उनको टोलमा बस्ने ५० भन्दा बढी घरको हो । घरमा पानीका धारा जडान गरिए पनि पानी नआएको महिनौं भएपछि अहिले उनीहरू सेती नदी र बाहुली खोलाको फोहोेर पानी पिइरहेका छन् ।

छोरा–छोरीको पढाइका लागि सदरमुकाम चैनपुरमा सामान्य व्यापार गरेर बस्दै आएकी छविसपाथीभेराकी दीपिका भण्डारीको अवस्था पनि ठाकुर परिवारको भन्दा फरक छैन । आफू बस्ने डेरानजिकै केही व्यक्तिहरूले निजी खानेपानीको धारा जडान गरेका छन् ।

कोभिड–१९ जोखिम बढेसँगै लामो समयदेखि निनी धाराको पानी मागेर गुजारा चलाउँदै आएका उनीहरूलाई निजी धारा संचालकले पानी दिन आनाकानी गरेका छन् । धाराको पानी नपाए पनि उनीहरू नदी र खोलाको सहारामा जिउन बाध्य छन् ।

विरेन्द्रबहादुर सिंहकी छोरी तीन वर्ष पुगिन् । परिवारमा खानेपानी भर्ने जिम्मा छोरीलाई दिइएको छ । धारामा अन्त्यन्तै सानो पानी आउने भएकाले भाँडा भर्न भन्दा पनि छोरीले खेल्दैमा ठिक्क हुने उहाँ बताउनुहुन्छ । ‘सानो पानी आउँछ, छोरीलाई खेल्दैमा ठिक्क, थोपा–थोपा आएको पानी छोरीले खेल्दै अलि अलि जम्मा गर्छिन्,’ उहाँ भन्नुहुन्छ, ‘पिउन र खाना पकाउन होटेलमा निजी धारा जडान गरेकाले त्यहाँबाट ल्याएर प्रयोग गर्छौं ।’

होटलको धारामा हप्ताको एक वा दुई पटक मात्र पानी आउँदा आफूहरूले पानी चोर्नुपर्ने अवस्था आएको दीपिका भण्डारी बताउनुहुन्छ । ‘निजी खानेपानीका धारामा गएर भर्दा कोरोना छ नआउनु भन्छन्, धेरै दिन त जबरजस्ती पानी भरेर गुजारा चलायौं,’ उहाँ भन्नुहुन्छ, ‘राति सबै सुतेको बेला चोरेर भए पनि जोहो गर्नुपर्दा आफैँलाई दुःख लाग्छ ।’

सदरमुकाममा भन्दा गाउँमा खानेपानीको समस्या नहुने बताउँदै उनी सदरमुकाममा बसेको छौं भन्न पनि लाजमर्दो अवस्था भइसकेको गुनासो गर्नुहुन्छ ।

कोभिडको महामारी बढिरहेका बेला सेती र बाहुलीको धमिलो पानी पिउँदा स्थानीयमा अन्य सरुवा रोगको जोखिम बढेको छ । खानेपानीको समस्या समाधानमा स्थानीय तह नलागेको खण्डमा बस्तीबाटै कोभिडसँगै अन्य सरुवा रोगको फैलन डर बढेको स्थानीय हिक्मत कुँवर बताउँछन् ।

यता, स्थानीय प्रशासनले भने लामो समयसम्म भएको खडेरीका कारण पानीको मुहान सुक्दासमस्या भएको जनाएको छ । २२ करोडको लगानीमा चैनपुर शहरी खानेपानी योजना बनिरहेकाले एक महिनाभित्र सबैको घर–घरमा शुद्ध खानेपानी पुग्ने चैनपुर खानेपानी उपभोत्ता समितिका अध्यक्ष लोकेन्द्र विष्ट विश्वास दिलाउनुहुन्छ ।

निषेधाज्ञाका कारण निर्माण सम्पन्न गर्न केही समय लागे पनि एक महिनाभित्र सम्पूर्ण काम सम्पन्न हुने उहाँको भनाइ छ ।

Skip This