८ आश्विन २०८०, सोमबार | Mon Sep 25 2023


कोरियाली युद्धमा मारिएका अमेरिकी सैनिकका अवशेष हस्तान्तरण


0
Shares

प्योङयाङ, साउन ११ । उत्तर कोरियाले सन् १९५० मा भएको युद्धका क्रममा मारिएका अमेरिकी सैनिकका अवशेषहरू अमेरिकालाई हस्तान्तरण गरेको छ ।

वासिङ्टन र प्योङयाङबीच कूटनीतिक सम्बन्धहरु सकारात्मक रुपमा अघि बढिरहेका बेला उत्तर कोरियाले पछिल्लो कदम चालेको हो ।

अमेरिकी सैनिक विमानले उत्तर कोरियाको वोन्सान विमानस्थलबाट ती शवका अवशेषहरू दक्षिण कोरियास्थित अमेरिकी सैन्य अखडामा पुर्‍याएको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् । युद्धमा मारिएका सैनिकका परिवारले ती शवका अवशेषहरुलाई दशकौंदेखि प्रतिक्षा गरिरहेका थिए ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाली नेताबीच जुन महिनामा भएको शिखर बैठकका बेला कोरियाली युद्धमा मारिएका अमेरिकी सैनिकका अवशेषहरू फिर्ता पठाउने विषयमा सहमति भएको थियो ।

सन् १९५० देखि १९५३ सम्म चर्किएको कोरियाली युद्ध सकिएको ६५ वर्षगाँठको बेला उत्तर कोरियाले पछिल्लो कदम चालेको हो । त्यो युद्धका बेला अमेरिकाले आफ्ना ५,३०० सैनिक गुमाएको थियो । तीमध्ये कयौंको अवस्था अज्ञात छ ।

अहिले कति सैनिकका अवशेषहरू उत्तर कोरियाबाट फिर्ता पठाइएको हो भन्ने प्रष्ट भइसकेको छैन ।

ह्वाइट हाउसले एक विज्ञप्ति जारी गर्दै उत्तर कोरियाको सकारात्मक कदमले आफुहरु उत्साहित भएको बताएको छ । (एजेन्सी)