घरमा ‘मिनि क्यासिनो’, २५ ‘जुवाडे’ फन्दामा, दुई करोड ६७ लाख नगद बरामद • Image Khabar Image Khabar


घरमा ‘मिनि क्यासिनो’, २५ ‘जुवाडे’ फन्दामा, दुई करोड ६७ लाख नगद बरामद


Imagekhabar
१० कार्तिक २०७६, आईतवार १७:३३

घरमा ‘मिनि क्यासिनो’, २५ ‘जुवाडे’ फन्दामा, दुई करोड ६७ लाख नगद बरामद

काठमाडौं, कात्तिक १० । प्रहरीले दुई करोड ६७ लाख रुपैयाँसहित आइतबार बिहान काठमाडौंको एक घरबाट २५ जना ‘जुवाडे’लाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त महाराजगन्जको टोलीले काठमाडौं महानगरपालिका–३, महाराजगन्ज, पिपलमार्गस्थित ३० वर्षीय विक्रम गौतमको घरमा अखडा जमाएका जुवाडेको समूहलाई पक्राउ गरेको हो ।

२५ जना जुवाडेबाट दुई करोड ६७ लाख रुपैयाँ नगद, तीन लाख रुपैयाँको चेक, ३२ थान कौडा र चारबुक तास बरामद भएको महाराजगन्ज प्रहरी वृत्तका प्रहरी नायब उपरीक्षक उमेश लम्सालले जानकारी दिए ।

पक्राउ पर्नेहरुमा गौतम, ‘क्यासिनो किङ’ भनेर चिनिने काभ्रेका बलराम सापकोटा, शोभित सिलवाललगायत रहेका छन् ।

उनीहरु यसअघि पनि जुवा खेल्दा–खेल्दै पक्राउ परेर कारबाहीमा परिसकेका व्यक्ति भएको प्रहरीले जनाएको छ ।

उक्त घरमा ‘मिनि क्यासिनो’ नै सन्चालनमा रहेको र उच्च घरानाका व्यक्तिहरु जुवा खेल्न जाने गरेको पाइएको प्रहरीको दाबी रहेको छ ।

पक्राउ परेकाहरुलाई महाराजगन्ज प्रहरी वृत्तको हिरासतमा राखिएको छ । उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्