२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


नेकपालाई कमजोर पार्ने खेल भइरहेको छ : दाहाल


0
Shares

विराटनगर, कात्तिक ८ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले देशलाई समृद्धि र विकासको बाटोतर्फ अघि बढाउन पार्टी र सरकारलाई बलियो बनाउनुपर्ने बताएका छन् ।

चाडपर्वका अवसरमा शुक्रबार विराटनगरमा आयोजित शुभकामना आदान–प्रदान कार्यक्रममा उनले नेकपालाई कमजोर पार्ने खेल भइरहेको जिकिर गरे ।

‘अहिलेपनि नेकपालाई कमजोर पार्ने खेल भइरहेको छ । पार्टीभित्रै नेताहरुबीच फुट सिर्जना गर्ने षडयन्त्र भइरहेको छ’–उनले भने ।

पार्टी एकतालाई बलियो बनाएरमात्रै राष्ट्रलाई बलियो बनाउन र ‘समृद्ध नेपाल, सुखी नेपाली’को आकांक्षा पूरा गर्न सकिने उनले उल्लेख गरे ।

अध्यक्ष दाहालले विचार मिलेर नै आफूहरुबीच पार्टी एकता भएको बताए ।

उनले भने–‘हामी अगाडि बढ्न खोजीरहेका छौं । अगाडि बढ्दा इतिहासलाई मेटेर होइन, इतिहासका राम्रा कुरालाई आत्मसात गरेर अझ माथि उठ्ने हो ।’

दाहालको सचिवालयकाअनुसार पार्टी एकताको रक्षा र पार्टी विधानको आधारमा चल्नुको विकल्प नरहेको उनले बताए ।

यसअघिका अनुभवलाई आत्मसात गर्दै एकताबद्ध भएर अघि बढ्नुपर्ने उनको भनाइ थियो ।

एकतालाई ‘आखाँको नानीजस्तै प्यारो’ मानेर अघि बढ्नुपर्ने बताउँदै दाहालले भने–‘अप्ठ्यारो छ तर त्यही अप्ठ्यारोलाई चिर्दै अघि बढ्नुपर्छ ।’

नेकपा मोरङ जिल्ला कमिटीले कार्यक्रम आयोजना गरेको हो ।