महराको अदालत यात्रा • Image Khabar Image Khabar


महराको अदालत यात्रा


Imagekhabar
८ कार्तिक २०७६, शुक्रबार १७:०७

महराको अदालत यात्रा

गृष्मा राजभण्डारी (इमेज)

काठमाडौं, कात्तिक ८ । बलात्कार प्रयासको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महरा विगत १९ दिनदेखि प्रहरी हिरासतमा छन् ।

बिहीबार अनुसन्धानका लागि तेस्रोपटक सात दिनको म्याद थपिएका महराविरुद्ध प्रहरीले अनुसन्धान पूरा गरी सरकारी वकिलको कार्यालयमा शुक्रबार अभियोगपत्र दर्ता गराएको छ ।

संसद सचिवालयकी महिला कर्मचारी रोशनी शाहीले आफूमाथि सभामुख कृष्णबहादुर महराले बलात्कारको प्रयास गरेको भन्दै गत असोज १८ गते यौन दुर्व्यवहारको जाहेरी बानेश्वर प्रहरी वृत्तमा दिइन् ।

सोही जाहेरीको आधारमा महरा गत असोज १९ गते आफ्नै निवासबाट पक्राउ परे ।

पक्राउलगत्तै सिंहदरबार वृत्तमा राखिएका महरा अस्वस्थ भएपछि उनलाई असोज २३ गते थापाथलीस्थित नर्भिक अस्पताल भर्ना गरियो ।

९ दिन हिरासतमा रहेका महरालाई असोज २८ गते अदालतमा उपस्थित गराइयो । सरकारी वकिलको कार्यालयमा उपस्थित गराइएका महरालाई करिब दुई घन्टापछि काठमाडौं जिल्ला अदालतमा पेस गरियो ।

काठमाडौं जिल्ला अदालतको दोस्रो भवनमा न्यायाधीश दीपककुमार दाहालको इजलासमा उपस्थित गराउने तय भएतापनि साँघुरो ठाउँका कारण न्यायाधीश दाहाललाई काठमाडौं जिल्ला अदालतमा झिकाइ म्याद थपको बहस गरी करिब तीन घन्टापछि पक्राउ परेको दिनदेखि हिरासतमा बसेको १३ दिनको गन्ती गरी तीन दिनको म्याद थपियो ।

१३ दिन हिरासतमा रहेका महरालाई गत कात्तिक ३ गते आइतबारका दिन सरकारी वकिलको कार्यालयमा बिहान १० बजेर २० मिनेटमा उपस्थित गराइएकोमा करिब ८ घन्टाको बयानपछि अपराह्न ५ बजेर ५० मिनेटमा जिल्ला अदालतमा पेस गरियो ।

म्याद थपको बहसपछि न्यायाधीश बाबुराम सुवेदीको इजलासबाट पाँच दिनको म्याद थप गरियो ।

सोही दिन रोशनी शाहीले काठमाडौं जिल्ला अदालतको दोस्रो भवनमा साँझ ६ बजेर १० मिनेटमा आफ्नै श्रीमान्सँग गइ महरामाथिको आरोप झुट भएको भन्दै निवेदन हालिन् ।

पाँच दिन थप हिरासतमा रहेका महरालाई कात्तिक ७ गते पुनः सरकारी वकिलको कार्यालय हुँदै काठमाडौं जिल्ला अदालतमा पेस गरिएकोमा न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासले प्रहरीले माग गरेबमोजिम सात दिनको म्याद थप गरिएको छ ।

अब महरालाई यही कात्तिक १४ गते बिहीबार अदालतमा पेस गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्