कांग्रेसभित्र फेरि चुलियो विवाद, उम्मेदवार छान्न छाडेर विभाग गठनको किचलो • Image Khabar Image Khabar


कांग्रेसभित्र फेरि चुलियो विवाद, उम्मेदवार छान्न छाडेर विभाग गठनको किचलो


Imagekhabar
८ कार्तिक २०७६, शुक्रबार १६:४६

कांग्रेसभित्र फेरि चुलियो विवाद, उम्मेदवार छान्न छाडेर विभाग गठनको किचलो

सरोज अधिकारी र सुन्दर गुरुङ (इमेज)

काठमाडौं, कात्तिक ८ । केही समय मथ्थरजस्तो देखिएको नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद फेरि सतहमा आएको छ ।

उपनिर्वाचनमा पार्टीलाई पहिलो बनाउने उद्देश्य राखेको कांग्रेसभित्र त्यही निर्वाचनको मुखमा फेरि विभाग गठनको विषयलाई लिएर विवाद बढेको हो ।

संस्थापनपक्षले पदाधिकारी मनोनयनदेखि पार्टी विधानसमेत केन्द्रीय समितिको बहुमतबाट पारित गराएपछि झस्कँदै आएको रामचन्द्र पौडेलपक्षले विभाग थप गर्ने प्रस्तावप्रति असहमति जनाउँदा कांग्रेसको उपनिर्वाचनसम्बन्धी छलफल नै अघि बढ्न सकेको छैन ।

उपनिर्वाचनमा उम्मेदवार चयनका लागि संसदीय बोर्ड बनाउन पदाधिकारी तहमा सहमत भएका शीर्ष नेताहरु सभापति शेरबहादुर देउवाले फेरि विभागको संख्या थप्ने प्रस्ताव गरेपछि कांग्रेस केन्द्रीय समितिको बैठक हलमै जान तयार भएनन् । जसका कारण बिहीबारका लागि बोलाइएको बैठक बस्नै सकेन ।

पदाधिकारी बैठकमा सभापति देउवाले बिनाजानकारी विभाग थप्ने प्रस्ताव ल्याएको भन्दै पौडेलपक्ष बैठकमासमेत जान तयार भएन ।

आफ्ना पक्षकालाई संरक्षण गर्ने र आगामी महाधिवेशन नै प्रभावित गर्ने नियतबाट विभाग थप्ने प्रस्ताव भएपछि विरोधमा उत्रनपरेको पौडेलपक्षको भनाइ छ ।

पौडेलपक्षीय केन्द्रीय सदस्य प्रदीप पौडेल विभाग थप्ने प्रस्ताव औचित्यपूर्ण नभएकाले समस्या आएको बताउँछन् ।

कांग्रेस विधानमा २८ ओटा केन्द्रीय विभाग रहने र आवश्यकताअनुसार केन्द्रीय समितिले विभाग थप्नसक्ने व्यवस्था छ ।

१३औं महाधिवेशनबाट चार वर्षका लागि निर्वाचित सभापति देउवा नेतृत्व कार्यकाल सकिनै लाग्दासमेत केन्द्रीय विभाग अझै गठन हुन सकेको छैन ।

सभापति देउवापक्ष भने विधानमै भएको व्यवस्था भन्दै विभाग थप्ने प्रस्तावको तयारीमा छ ।

पार्टी प्रवक्ता विश्वप्रकाश शर्मा सभापतिको विभाग थप्ने प्रस्ताव आवश्यकताका आधारमा भएको भन्दै केही जनसम्पर्क समिति र विभागहरुको संख्या थपघट गर्नुपर्ने बताउँछन् ।

आमनिर्वाचनबाट मरिचझैं खुम्चिएको कांग्रेस उपनिर्वाचनको संघारमा छ । उसले उपनिर्वाचनमा पहिलो बन्ने उद्घोष पनि गरिरहेकै छ ।

भिडियो हेर्नुहोस्

प्रतिक्रिया दिनुहोस्