
काठमाडौं, साउन ११ । भारतको दक्षिणी राज्य केरलामा एक व्यक्तिको प्रहरी हिरासतमा यातना दिएर हत्या गरिएको ठहर गर्दै दुई प्रहरी अधिकारीहरूलाई मृत्युदण्डको फैसला सुनाइएको छ ।
तेह्र वर्षदेखि न्यायका लागि संघर्ष गर्दै आएकी मृतककी आमाले अदालतको फैसलाको स्वागत गरेकी छन् । उनले ईश्वरले एउटी आमाको पुकार सुनेको प्रतिक्रिया दिइन् ।
केरलाको एउटा विशेष अदालतले ती दुई प्रहरी अधिकारीहरूले चोरीको आशंकामा समातिएका २६ वर्षीय युवकलाई ज्यान जाने गरी यातना दिएको ठहर गरेको हो । सो राज्यमा हिरासतमा भएको मृत्युमा मृत्युदण्ड सुनाइएको यो पहिलो घटना हो । अर्का प्रहरी अधिकारीलाई पनि सो घटनामा दोषी पाइएको थियो । तर फैसला आउनुअघि नै उनको निधन भइसकेको छ ।
अदालतले अन्य दुई वरिष्ठ अधिकारीहरूलाई सो घटना ढाकछोप गर्ने खोजेको भन्दै तीन वर्ष कारावासको सजाय सुनाएको छ ।
त्रिवेन्द्रम नगरस्थित एउटा उद्यानमा उदयकुमार नाम गरेका २६ वर्षीय श्रमिकसँग भारु चार हजार फेला परेपछि सन् २००५ को सेप्टेम्बरमा उनलाई चोरी गरेको आशंकामा पक्राउ गरिएको थियो । त्यो रकम लिएर प्रहरीले उनलाई छोडिदिए पनि आफूले आमालाई ओणम पर्वमा उपहार दिने वचन दिएको भन्दै उदयकुमार जान मानेनन् । त्यही साँझ उनलाई अस्पतालमा मृत अवस्थामा पुर्याएको बताइन्छ ।
शवपरीक्षण गर्दा उनको शरीरमा चिकित्सकहरूले गम्भीर यातना दिइँदा हुने आन्तरिक चोटहरू भेटेका थिए । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्