कांग्रेसलाई उपनिर्वाचनका लागि उम्मेदवार छनोट र भातृसंगठनको विवाद मिलाउन सकस • Image Khabar Image Khabar


कांग्रेसलाई उपनिर्वाचनका लागि उम्मेदवार छनोट र भातृसंगठनको विवाद मिलाउन सकस


Imagekhabar
७ कार्तिक २०७६, बिहीबार १२:०६

कांग्रेसलाई उपनिर्वाचनका लागि उम्मेदवार छनोट र भातृसंगठनको विवाद मिलाउन सकस

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । केन्द्रीय कार्यालय सानेपामा अपराह्न बैठक बस्न लागेको हो ।

छलफलका लागि विभिन्न एजेन्डाहरू तय गरिए पनि मुख्यगरी मंसिर १४ का लागि तोकिएको उपनिर्वाचनका उम्मेदवारबारे बैठक केन्द्रित हुने कांग्रेस नेताहरूले बताएका छन् ।

कांग्रेसले उम्मेदवार सिफारिसका लागि मातहतका कमिटीलाई यसअघि नै निर्देशन दिइसकेको छ । कांग्रेस केन्द्रीय कार्यालयका अनुसार, केही स्थानीय तहका उम्मेदवारको नाम सिफारिस भएर आइसकेको छ ।

धरान उपमहानगरपालिकाको मेयरमा तिलक राईको मात्र नाम सिफारिस भएको छ ।

तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारी हेलिकोप्टर दुर्घटनामा परी दिवंगत भएपछि रिक्त कास्की क्षेत्र नं. २ मा सबैभन्दा बढी आकांक्षी देखिएका छन् ।

आकांक्षीको होड देखिएपछि कांग्रेसका लागि उम्मेदवार छनोट गर्न सकस परेको छ ।

कांग्रेसका एक नेताका अनुसार, उम्मेदवार चयनका लागि कांग्रेसले केन्द्रीय समिति बैठकबाट एक उपसमिति बनाउने सम्भावना छ ।

त्यस्तै, पार्टी भातृसंगठनका विवादबारे पनि छलफल हुने एजेन्डा छ । कांग्रेस भातृसंगठन नेपाल विद्यार्थी संघ, तरूण दललगायतको कार्यकाल समाप्त भए पनि अधिवेशन हुन सकेको छैन ।

अधिवेशनको मिति तय नगर्दा यी संगठनहरू निष्क्रिय हुनुका साथै विवादमा फसेका छन् ।

तरुण दलभित्र एकले अर्कोलाई कारबाही गर्नेजस्ता गतिविधि पछिल्ला समय देखिएका छन् । आज बस्ने बैठकले यसबारे पनि छलफल गर्ने नेताहरूले बताएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्