१९ असार २०८२, बिहिबार | Thu Jul 3 2025


महिलालाई डोजर लगाउने चालकमाथि ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता


0
Shares

बैतडी । डोजरले महिला हुत्याउने बैतडीका एक चालकविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भएको छ ।

बैतडीको दशरथचन्द नगरपालिका वडा नं ९ मा स्थानीय गौरी जोशीलाई डोजरले हुत्याउने चालक किशोर बोहराविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरिएको हो ।

घटनामा संलग्नभएको आरोपमा चालकसहित अन्य ३ जना पनि पक्राउ परेका छन् ।

डोजरले महिला हुत्याएको भिडियो सार्वजनिक भएपछि प्रहरीले नियन्त्रणमा लिएका चालक किशोर बोहराविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक किसन चन्दले जानकारी दिए ।

मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान गरिरहेको उनले बताए । दशरथचन्द नगरपालिका वडा नं ९ को सुन्नाखानदेखि पार्ससम्म जोड्ने सडक निर्माणका विषयमा दुई पक्षबीच विवाद हुँदा सोमबार झडप भएको थियो ।

झडपका बेला सडक रोक्नुपर्छ भन्ने पक्षका गौरी जोशीलाई डोजरले हुत्याइएको थियो । जोशीलाई डोजरले हुत्याउँदा गौरी गम्भीर घाइते भएकी छन् । उनको अहिले कोहलपुरमा उपचार भइरहेको छ ।

सडक निर्माणका विषयमा भएको विवादका बारेमा दुवै पक्षसँग छलफल गरेर टुंगोमा पुग्ने बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले जानकारी दिए ।