
काठमाडौं । कोरोनाबिरुद्धको खोप खरिदमा बिचौलियाको कमिसन नमिल्दा ५० लाख डोज खोप नेपाल आउन नसकेको समाचार सार्वजनिक भएपछि उनीहरुमाथि कारबाही गर्नुपर्ने आवाज चौतर्फीरुपमा उठेको छ ।
सरकारले खोप खरिदका लागि भारतमा रहेको सेरम इन्स्टिच्युट अफ इन्डिया प्राइभेट लिमिटेठलाई बैनाबापत रकम दिँदा पनि बिचौलिया हुकम डिस्ट्रिब्युसन्स् एन्ड लजिस्टिक प्राइभेट लिमिटेडका सञ्चालक विजय दुगड र नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष सुरज वैद्यकी श्रीमती रितु सिंह वैद्यको चलखेलका कारण नेपाल सरकारले समयमा खोप नपाउँदा दैनिक ५० भन्दा बढी नेपाली नागरिकले मृत्युवरण गर्नुपरेको छ भने हजारौंले कोरोना संक्रमित हुनु परेको छ ।
नेपाल सरकारले भारतमा उत्पालन हुने सेरम इन्डियाको कोभिसिल्ड खरिदका लागि कम्पनीसँग सीधैं सम्झौता गरेर अग्रिम भुक्तानी दिएको भए पनि बिचौलिया दुगड र वैद्यले कमिसनबापतको रकम नदिएसम्म उक्त खोप नेपाल ल्याउन नदिने भन्दै सेरम इन्डियालाई पटक पटक पत्राचार गरेपछि कम्पनीले खोप नेपाल पठाउन आनाकानी गरेको थियो ।
यसैबीच भारतमा कोरोना संक्रमणको दोस्रो लहर फैलिएपछि कोभिसिल्ड निर्यातमा प्रतिबन्ध लाग्नु अगावै आउनुपर्ने खोप बिचौलियाको चलखेलका कारण नआएपछि नेपाली जनताले कोरोनाविरुद्धको खोप लगाउनबाट वञ्चित हुनु परेको हो ।
प्रतिक्रिया दिनुहोस्