१९ असार २०८२, बिहिबार | Thu Jul 3 2025


११ अध्यागमन अधिकृतसहित १३ जनाविरुद्ध मुद्दा दायर


0
Shares

काठमाडौं, कात्तिक ५ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विमानस्थलका अध्यागमन अधिकृत कमलप्रसाद पराजुलीसमेत १३ जनाविरुद्ध मंगलबार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

वैदेशिक रोजगारमा जान चाहने महिला तथा पुरुषलाई कतारलगायतका खाडी मुलुकमा ‘भिजिट भिसा’मा प्रस्थान अनुमति प्रदान गरी विचौलियालाई सघाउ पुर्‍याएको अभियोग उनीहरुमाथि आयोगले लगाएको छ ।

त्रिभुवन विमानस्थलका अध्यागमन अधिकृत कमलप्रसाद पराजुलीले कार्यालय समयमा रहेको अवस्थामा कम्प्युटरको नेटवर्क बन्द गरी शंकास्पदरुपमा दुईओटा मोबाइल फोनमार्फत् लाइनमा रहेका महिला यात्रीलाई बोलाइ कागजातसमेत नहेरी प्रस्थान अनुमति दिएको आरोप छ ।

पराजुलीले प्रयोग गर्ने मोबाइल नम्बरको आधारमा प्राप्त हुन आएको ‘कल रेकर्ड’ तथा तथ्यहरु अध्ययन गर्दा उनले सोही कार्यालयमा कार्यरत् अन्य अध्यागमन अधिकृतबीच ‘म्यासेज’समेत आदान–प्रदान गरेको र २४८ जनालाई प्रस्थान अनुमति दिने कार्यमा मिलेमतो गरेको पाइएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

खाडी मुलुकमा घरेलु कामदारलगायत पेसामा जान चाहनेलाई अध्यागमन अधिकृत पराजुलीसमेतका व्यक्तिले विचौलियाको ‘सेटिङ’मा प्रतिव्यक्ति रु १० हजार लिइ अनुमति दिएको आयोगको जिकिर छ ।

आयोगकाअनुसार त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका अधिकृतहरु मनहरि बराल, शैलेन्द्र केएम, तोरण पराजुली, चक्रबहादुर श्रेष्ठ, मनोजकुमार पोखरेल, जगदीशचन्द्र नेपाली, विजय सापकोटा, शैलेन्द्र ढकाल, पद्मप्रसाद बजगाईं, वीरसिंह भण्डारी, कम्प्युटर अपरेटरद्वय रोशन गौतम र भोजप्रसाद न्यौपानेसमेतले अध्यागमन प्रणालीमा अभिलेख नराखी २४८ जनाको प्रतिव्यक्ति रु १० हजारका दरले रु २४ लाख ८० हजार बराबरको रकम उठाएको पाइएको आयोगको आरोपमा उल्लेख छ ।

उनीहरुविरुद्ध आयोगले मंगलबार विशेष अदालतमा मुद्दा दायर गरेको र अन्य संलग्न व्यक्तिमाथिसमेत अनुसन्धान जारी रहेको प्रवक्ता कोइरालाले जानकारी दिए ।

यस्तै, आयोगले बारागढी गाउँपालिका–३, बाराका जनजागृति राष्ट्रिय प्राथमिक विद्यालयको भौतिक निर्माणका लागि सरकारी स्रोतबाट प्राप्त रकम दुरुपयोग गरेको अभियोगमा तत्कालीन जिल्ला शिक्षा अधिकारी धनप्रसाद पोखरेलविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

पोखरेलले पदीय दायित्व निर्वाह नगरी रु एक लाख ३९ हजार ९६२ बढी भुक्तानी गरेको पाइएको छ ।

आयोगले सरकारी रकम हिनामिना गरी गैरकानुनी लाभ लिएको आरोपमा लेखापाल नवराज भण्डारी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तेजमनप्रसाद यादव, निमित्त प्रधानाध्यापक राजकिशोर चौधरी, इन्जिनियर वसन्त निधि र सबइन्जिनियर दिलीपकुमार जैसवालविरुद्धसमेत विशेष अदालतमा मुद्दा दायर गरेको छ । रासस