२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


कास्की–२ उपनिर्वाचनः कांग्रेसबाट १६ जनाको नाम केन्द्रमा सिफारिस, नेकपामा क–कसको चर्चा ?


0
Shares

प्रदीप पौडेल (इमेज)

पोखरा, कात्तिक ५ । कास्की निर्वाचन क्षेत्र नम्बर–२ मा हुने उपनिर्वाचनका लागि नेपाली कांग्रेस कास्कीले जिल्लामा उम्मेदवार छनोट गर्न नसकेपछि १६ जना आकांक्षीको नाम केन्द्रमा छनोटका लागि सिफारिस गरेको छ ।

केन्द्रबाट तीनजनाको नाममात्र सिफारिस गरी पठाउन भनिएकामा आकांक्षी बढेपछि सहमति नभएको हो ।

सहमति नहुँदा यसअघि क्षेत्रीय समितिले गरेको सिफारिसबमोजिम जिल्ला कार्यसमितिको मंगलबारको बैठकले जस्ताको तस्तै १६ जनाकै नाम केन्द्रमा पठाउने निर्णय गरेको हो ।

पार्टीका जिल्ला कार्यसमिति सदस्य नवीन सिग्देलकाअनुसार कास्की–२ को प्रतिनिधिसभा सदस्यका लागि सिफारिस नामहरुमा गएको निर्वाचनमा पराजित देवराज चालिसे, कांग्रेस क्षेत्र नम्बर–२ का क्षेत्रीय सभापति माधवप्रसाद बास्तोला, सोभियतबहादुर अधिकारी, नेता खेमराज पौडेल, पूर्वमन्त्री महादेव गुरुङ छन् ।

यस्तै, कांग्रेस महासमिति सदस्य ऋषि काफ्ले, महासमिति सदस्य कृष्ण कार्की, महासमिति सदस्य केशरप्रसाद निर्दोषी, महासमिति सदस्य गुरु बराल, जिल्ला कोषाध्यक्ष लक्ष्मी पाण्डे, सहसचिव रंगीला आचार्य, पत्रकार विमला भण्डारी, पूर्वक्षेत्रीय सभापति निर्मलप्रसाद कर्माचार्य, महाधिवेशन प्रतिनिधि वीरेन्द्रनारायण विजुक्छे, प्रदेश सभापति २ (क) विजय आचार्य र महासमिति सदस्य खेमकुमारी बराल छन् ।

तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा परी निधन भएपछि कास्की क्षेत्र–२ जनप्रतिनिधिविहीन छ ।

आउँदो मंसिर १४ गते हुने उपनिर्वाचनका लागि यही कात्तिक २१ गते उम्मेदवारी दर्ताको समय तोकिएको छ ।

नेकपामा क–कसको चर्चा ?

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट रवीन्द्रपत्नी विद्या भट्टराईसहित सोमनाथ अधिकारी, श्रीनाथ बराल, राजकाजी गुरुङले दाबी गरेका छन् ।

यद्यपि, तुलबहादुर गुरुङ, धनराज आचार्य, भीम कार्कीलगायतको नाम चर्चामा छ ।

‘छिटो टुंग्याउने कुरा हो । छलफल भइरहेको छ । तर, निर्णय भएको छैन’–नेकपा कास्कीका अध्यक्ष कृष्ण थापाले भने–‘सकेसम्म सर्वसम्मत निर्णय गर्ने प्रयास भइरहेको छ ।’

नेकपाले चुनावकेन्द्रित कार्यक्रम भने गरिरहेको छ ।

गएको चुनावमा स्व. रवीन्द्र अधिकारीले कांग्रेसका उम्मेदवार देवराज चालिसेलाई साढे ८ हजारभन्दा बढी मतान्तरले पराजित गरेका थिए ।

भोट माग्दै रजनी केसी

साझा पार्टीबाट सम्भावित उम्मेदवार रजनी केसीले शुभेच्छुकहरुसित भोट माग्न थालिसकेकी छन् ।

उम्मेदवार बन्नकै लागि उनी कांग्रेस छाडेर साझा पार्टीमा प्रवेश गरेकी थिइन् । साझा पार्टीले यो उपनिर्वाचनलाई ‘मिनि’ जनमतसंग्रहकारुपमा लिएको जनाएको छ ।

समाजवादी पार्टीबाट को ?

सत्ता–साझेदार दल समाजवादी पार्टी नेपालबाट किरण थापा उम्मेदवार बन्ने सम्भावना बढी रहेको बताइएको छ ।

गएको चुनावमा यहाँ विभिन्न पार्टी तथा स्वतन्त्र गरी १३ जना उम्मेदवार प्रतिस्पर्धामा थिए ।

कास्की–२ मा एक हजार २२० नयाँ मतदाता

जिल्ला निर्वाचन कार्यालय कास्कीकाअनुसार उपनिर्वाचनका लागि कास्की क्षेत्र नम्बर–२ मा एक हजारभन्दा बढी नयाँ मतदाता थपिएका छन् ।

दुई वर्षअघि भएको प्रदेश र प्रतिनिधिसभा निर्वाचनपछि हालसम्म एक हजार २२० नयाँ मतदाता थपिएका हुन् ।

यसअघि, ७० हजार ६५१ जना मतदाता रहेको यो क्षेत्रमा त्यो संख्या बढेर ७१ हजार ८७१ पुगेको छ । उपनिर्वाचनका लागि ६१३ पुरुष र ६०७ जना महिला मतदाता थपिएका छन् ।

कास्की–२ मा ३३ हजार १०६ जना पुरुष, ३८ हजार ७६४ महिला र एकजना तेस्रोलिंगी मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय कास्कीले जनाएको छ ।

यसअघिको परिणाम

पोखरा महानगरपालिकाका विभिन्न ११ ओटा वडा पर्ने कास्की–२ मा गएको निर्वाचनमा तत्कालीन नेकपा एमालेका उम्मेदवार रवीन्द्र अधिकारीले २७ हजार २०७ मत र उनका निकटतम् प्रतिस्पर्धी देवराज चालिसेले १८ हजार ६६१ मत पाएका थिए ।

तत्कालीन विवेकशील साझा पार्टी तेस्रो भएको थियो । विवेकशीलका उम्मेदार श्रीकृष्ण श्रेष्ठले ८४३ मत पाएका थिए ।

गण्डकी प्रदेशअन्तर्गत् प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तह गरी पाँच ठाउँमा उपनिर्वाचन हुँदैछ ।