२४ बैशाख २०८२, बुधबार | Wed May 7 2025


‘स्याटरडे प्लेन एअर’ अभियानको जीवन्त मध्यपुर


0
Shares

-केके मानन्धर

चौवन्न वर्षका राकेशचन्द्र श्रेष्ठ क्यानभासमा रेखा तान्ने तरिका सिकाउँदै थिए । छिनमै आफैले बनाउँदै गरेको चित्र पनि हेर्न जान्थे । कहिले रङ भर्ने त कहिले चित्र बनाउँदै गरेका कलाकारलाई सुझाउनतिर व्यस्त देखिन्थे उनी । शनिबार देखिएको यो परिदृश्य निकै बेर चल्यो । ४७ सालमा ललितकला क्याम्पस भर्ना भएर ५५ मा स्नातक तह पूरा गरेका ललितपुरका उनलाई घरको समर्थन थिएन । हामीसँगको कुराकानीको क्रममा नेवार समुदायभित्रको चित्रकारले अंगाल्ने परम्परागत पेशा भएर उनलाई घरको समर्थन नभएको बताए । कला क्षेत्रमा लाग्ने तीव्र इच्छालाई उहाँको पारिवारिक अस्वीकृतिले पनि छेकेन । बरु घरमै खबर नगरी श्रेष्ठले लुकीलुकी चित्रकारिता अध्ययन गरी यसलाई नै पेशा बनाउनतिर लागे । त्यो समय करिव सात वर्ष सम्म चल्यो, पूर्णकालीन चित्रकारिता गरेर । कलालाई व्यावसायिक पेशाको रुपमा अंगाल्न चाहेका उनी त्यति सफल भने भएनन् । योसँगै एकाध चित्र कोर्दै दुुई दशक सम्म कलाकारिताबाट विमुख भए ।

संयोग भन्नुपर्छ सन् २०१८ साल, कि त्यहिँदेखि पुनः कलाकारिता पुनर्जागृत हुँदैछ । काठमाडौंस्थित आर्ट काउन्सिलमा भेट भएका पुराना कलाकार साथीहरुले सुस्ताएको कलालाई ब्यँुताउने योजना बुने र उनी पनि सामेल भए । बस् केहि चाहियो, केहि दिनमै बसन्तपुर पुगेर ‘स्याटरडे प्लेन एअर’ शुरु भयो । फुर्सद मिलाएर प्रत्येक शनिबार चित्र कोर्न जाने सहमति बन्यो । खुल्ला ठाउँ पुगेर चित्र कोर्ने कामलाई फ्रान्सेली भाषामा प्लेन एअर भनिँदो रहेछ । त्यो २०१८ सेप्टेम्बर १ तारिख अहिले भइरहेको अभियानको कोशेढुंगा साबित हुँदैछ । त्यहाँदेखि शुरु भएको अभियान देशैभर फैलिँदो छ ।

‘समकालीन कलाकार साथीहरु दिपेन्द्र बनेपाली, दिवेश प्रधान तथा अन्य साथीहरुसँग त्यो दिन चित्र कोर्दै गर्दा विदेशीले खरिद गर्न देखाएको आतुरताले हामी अझ हौसियौँ । शुरुमा त हामीलाई काममा भाँजो हाल्न आइपुगेको भन्ठानेका थियौँ । तर हिमाल चढेर फर्केका विदेशीहरुले दिपेन्द्रको चित्र पाँच हजारमा बुकिङ गरे ।’ श्रेष्ठले उत्साही भएर विगत सुनाए ।

हुन पनि खुल्ला ठाउँमा चित्र कोरेर शुरु गरिएको अभियानमा अहिले देशभरका कम्तीमा तीन सय सदस्य छन् । स्वस्फूर्त शुरु भएको चित्र कोर्ने काम उपत्यका मात्रमा सीमित छैन । काभ्रेको भोटेकोशी गाउँपालिकामा वैशाख महिनामा सम्पन्न भएको थियो । त्यस्तै रसुवाको बेत्रावती नगरपालिकामा कात्तिक २२ र २३ गते हुँदैछ । यसअघि पाटन, भक्तपुर दरबार क्षेत्र तथा अन्य ठाउँमा पनि सम्पदा, जीवनशैली, प्रकृतिलाई क्यानभासमा उतारेका छन् । भक्तपुरको दरबार स्क्वायरमा बनाइएका ३० वटा उत्कृष्ट चित्रलाई अहिले अष्ट्रेलियामा प्रदर्शनीमा राखिएका छन् ।

निश्चित ठाउँमा स्वस्फूर्त सहभागी हुन चाहने कलाकारले सामाजिक सञ्जाल फेसबुकमा भएको स्याटरडे प्लेन एअर पेज र च्याट ग्रूपमा खबर गर्न सक्छन् । निश्चित ठाउँलाई क्यानभासमा उतार्न सोही अनुकूलको समय र नाउँ जुराएर योजना बुन्ने गरेको छ । काभ्रेको लागि जुराएको अभियानको नाउँ ‘सभ्यताको सौन्दर्य’ हो ।

जीवन्त मध्यपुर

मध्यपुरमा पनि दिवेश प्रधानको संयोजन तथा शंखधर एशोसिएसन अफ फाइन आर्टको सहकार्यमा केहि समय यतादेखि ‘जीवन्त मध्यपुर’ अभियान चलाइएको छ । प्रत्येक शनिबार निश्चित ठाउँमा पुगेर सोही ठाउँलाई आकर्षक ढंगले प्रस्तुत गर्ने क्रममा बोडेको महालक्ष्मी, नगदेशको लाछि टोल, सिद्धिकाली, निगु पुखू, चपाचो तथा लाय्कूमा कार्यक्रम सम्पन्न गरेको छ । छैटौँ हप्तामा मध्यपुरको सिवाटोल पुगेको हो । कात्तिक १० गते निगु पुखू क्षेत्रमा चित्रकला प्रदर्शनी गर्न मध्यपुरका विभिन्न ठाउँ पुगेका १८ जना कलाकारहरु छैटौँ हप्ताको ‘जीवन्त मध्यपुर’ अभियान अन्तर्गत सिवाटोल आएका हुन् ।

कात्तिक ९ गते बालकुमारी प्रांगणमा मध्यपुर सिरिज सकाएर भोलिपल्ट निगु पुखूमा करिव ६० वटा चित्रलाई प्रदर्शनीमा राखिने स्थानिय संयोजक प्रकाश मानन्धरले जनाए । मूर्त र अमूर्त सम्पदालाई क्यानभासमा उतारेर छनोट पश्चात् आयोजना गरिने चित्रकला प्रदर्शनीमा मध्यपुर थिमि नगरपालिकाले सहकार्य गर्ने भएको छ । नगरका विभिन्न ठाउँका क्यानभास चित्रलाई परिचयसहितको पुस्तिका प्रकाशन गर्नेमा पालिकाले प्रतिबद्धना जनाएको संयोजक मानन्धरले जनाए । संघ सरकारको ‘नेपाल भ्रमण वर्ष २०२०’ लाई टेवा पुग्ने भएर स्याटरडे प्लेन एअर अभियानलाई स्थानिय सरकारले सहकार्य गरेको बताइएको छ ।

मध्यपुर क्षेत्रका पाँच जना कलाकार मिलेर गठन गरेको संस्थाले यसअघि किपा एक, किपा दुई र किपा तीन नाउँ दिएर ०६५, ६६ र ७५ सालमा चित्रकला प्रदर्शनी गरेका थिए । मध्यपुरका सीमित कलाकारहरुको सहभागितामा मात्र प्रदर्शनी थालिएकोमा अहिले अभियानमा सहभागी भएर सहकार्य गर्न पाउँदा उनी पनि दंगै देखिन्छन् । शंखधर एशोसिएसन अफ फाइन आर्टका पाँचै जना कलाकार जीवन्त मध्यपुर सफल बनाउन लागि परेका छन् । यसमा मध्यपुर आर्ट एशोसिएसनका कलाकारहरु पनि सहभागी छन् । ती मध्ये बिस्केट जात्रामा जिब्रो छेडएका जुजुभाइ बासँ श्रेष्ठ, विभिन्न स्कूलमा पुगेर चित्रकला सिकाउने हरि प्रजापतिदेखि प्रविण श्रेष्ठ, सुन्दर श्रेष्ठ, विक्रम प्रजापति र कान्छाकाजी भासिमा पनि छन् ।

जीवन्त मध्यपुर नाउँ दिएर शुरु गरिएको छैटौँ हप्ताको अभियानमा ललितकला प्रज्ञा प्रतिष्ठानका बुद्धि गुरुङ, पुरातत्व विभागका अधिकृतदेखि विभिन्न संचारगृहमा आबद्ध संचारकर्मीहरुलाई निम्त्याइएको थियो । सात वटा पाटी, मध्यपुर क्षेत्रकै सबभन्दा पुरानो महादेवको मन्दिरदेखि गणेश मन्दिर, चैत्य, आर्यावलोकितेश्वरको मूर्ति अवस्थित टोलमा कलाकारले फरक पृष्ठभूमिलाई आआफ्नो सिर्जनामा समेतेका छन् । बिहान आठै बजे शुरु भएको अभियान साँझ सम्म चलेको थियो । सोही अवधिमा डेढ दर्जन कलाकारहरुले कम्तीमा २० वटा चित्रलाई क्यानभासमा उतारे ।

पृष्ठभूमि

मानवीय आत्माको अभिव्यक्तिलाई कलाको रुपमा बुझ्न सकिन्छ । समयानुकूल यसको प्रयोग र प्रस्तुती भने फरक हुन सक्छ । यिनै परिस्थितिबाट रंगहरू जन्मिने गर्दछ । कलाकारले व्यक्ति, परिवेश, भोगाई तथा अन्य अभिव्यक्तिको आधारमा प्रस्तुत गरिने कलाको विकसित रुप चित्रकला हो । व्यक्तिका सामाजिक, आर्थिक र सांस्कृतिक पक्षलाई कलामा उतार्ने गरिन्छ । त्यस्ता फरकपनको स्वरूप चित्रकलाको माध्यमबाट प्रस्फुटित हुने गर्दछ ।

इतिहास

उत्तर अफ्रिकी देश मिश्रले पश्चिम एशिया र भूमध्य सागर जोड्छ । मानव सभ्यता शुरु भएको नाइल नदी आसपासको क्षेत्रमा बसोबास गर्ने मानिसले चित्रकलालाई विकास गरेको हो । बेलायतको लन्डनस्थित संग्रहालयमा सुरक्षित राखिएको तीन हजार वर्ष पुरानो चित्रले यसलाई पुष्टि गर्दछ । चीन, भारत तथा नेपालसँग पनि चित्रकलाको इतिहास जोडिन्छ । यस्तै खालका चित्रकला भारत तथा नेपालमा थुप्रै छन् । रामायणदेखि महाभारतकालीन चित्रकलाले नेपाल र भारतमा पनि धेरै पहिलेबाट चित्रकला विकास भएको थाहा हुन्छ । भारतको अयोध्या, गोकुलधाम, आग्रा तथा नेपालको जनकपुरमा भेटिने जलरङ र भित्तेचित्र पौराणिक चित्रकलाको बलियो आधार हो । त्यसमा पनि मध्यकालमा काठमाडौं, भक्तपुर तथा ललितपुरका दरबारभित्र बनाइएका भित्तेचित्रले चित्रकलाको स्वर्णयुगलाई जनाउ दिन्छ ।

नेपालमा चित्रकलाको विकासक्रम

कलाकार तथा वरिष्ठ समीक्षक मदन चित्रकारका अनुसार गोर्खाका राजा पृथ्वीनारायण शाहले नेपाल राज्यको एकीकरण गरेपछि नेपाली चित्रकला परम्परामा परिवर्तन देखिएको हो । प्राचीन समयमा नेपाली चित्रकला परम्परागत धर्ममा आधारित थियो । चित्रकलालाई पारिवारिक पेशाको रुपमा नेवार समुदायको चित्रकार परिवारले धानेको थियो । नेपाली कला र सामाजिक विकासको स्वर्णयुग मानिने लिच्छवी तथा मल्लकालीन समयमा थुप्रै कलाकार्य भएका थिए । विशेष गरी वास्तुकलाको विकास, योसँगै भित्तेचित्रको पनि निर्माण भएको पाइन्छ । तथापि चित्रकारिताको आयु वास्तुकलाको जति लामो नहुने हुँदा र त्यो समय पछिका विभिन्न प्राकृतिक दुर्घटनाले गर्दा थुप्रै चित्र नष्ट भए । विभिन्न धार्मिक ग्रन्थहरूमा पनि चित्र निर्माण भए पनि तिनीहरू लामो समय नटिकेको उहाँको भनाई छ ।

सन् १८१४ देखि १८१६ सम्मको नेपाल–अंग्रेज युद्धपछि नेपाल र अंग्रेजबीच सुगौलीसन्धि भयो । अंग्रेजले नेपाल प्रतिनिधिको रूपमा सन् १८२० मा ब्रायन एच हड्सनलाई नेपाल पठाए । त्यतिबेला नेपालमा भीमसेन थापा प्रधानमन्त्री थिए । हड्सनले नेपाल बसाइका क्रममा नेपालको बौद्ध वास्तुकलाको विषयमा अध्ययन, खोज र अनुसन्धान गरेका थिए । अध्ययनका क्रममा राजमान चित्रकारलाई वास्तुकलाको स्केच तयार गराउँथे र चित्रकारिताका नयाँ–नयाँ तरिका पनि सिकाउँथे । योसँगै नेपाली चित्रकलामा परिवर्तन देखापर्‍यो । त्यसपछि भाजुमान चित्रकारको युरोप भ्रमण, चन्द्रमानसिङ मास्के र तेजबहादुर चित्रकारको कलकत्तामा चित्रकारिता अध्ययनसँगै नेपालीकलामा नौलो आयामको सुरुवात भयो ।

यसै सन्दर्भमा वरिष्ठ कलाकार तथा ललितकला प्रतिष्ठानका पूर्वकुलपति किरण मानन्धर भन्छन्, ‘जंगबहादुर राणाले कलाकारलाई युरोप भ्रमणमा लगेसँगै कलाकारलाई राज्यले हेर्ने दृष्टिकोणमा परिवर्तन हुन थाल्यो । चन्द्रमान सिङ मास्के र तेजबहादुर चित्रकारले चित्रकलाका शैलीमा नयाँ शैली भित्र्याए । कला गतिविधिमा राणाहरूको प्रत्यक्ष सम्बन्ध स्थापित हुन थाल्यो । सामान्य जनताका विषयले पनि कलाकृतिमा प्रवेश पाउन थाले । २००७ सालको परिवर्तनका लागि कलाकारले जनताका अपेक्षाका कला रचना गर्न थाले । नवीन भावसहितका रचनाले प्रश्रय पाउन थाले ।

नेपालमा ११औँ शताब्दीतिर धार्मिक तथा तान्त्रिक विधाको प्रचलनमा केही ग्रन्थहरू तयार भएका छन् । ती ग्रन्थका बीचबीचमा देवदेवीका चित्र बनाइएको पाइन्छ । सन् १०१५ को प्रज्ञा पारमिता ग्रन्थचित्र नेपालको पुरानो ताडपत्रको ग्रन्थचित्र मानिएको छ । त्यस्तै, नेपाली चित्रकलामा अमिताभको सन् १३६८ मा बनेको पौभा चित्र पनि महत्वपूर्ण प्राचीनचित्रको रूपमा स्थापित भएको छ । १९ औँ शताब्दीमा जन्मपत्रिका चित्र तथा केही सामाजिक चित्रहरू बनेका थिए । २० औँ शताब्दीमा नेपाली कलामा नयाँ मोड देखियो । त्यस समय पश्चिमी शैली र प्रवृत्तिको शुरुवात भयो । त्यस बेलादेखि पश्चिमी यथार्थवादी अथवा वस्तुगत शैलीको सुरुवात राणा प्रधानमन्त्री जंगबहादुर राणाको बेलायत र फ्रान्स भ्रमण गरेपछि भयो । प्रधानमन्त्री जंगबहादुर राणासँगै त्यस समयका प्रख्यात कलाकार भाजुमान चित्रकार पनि गएका थिए । भाजुमान चित्रकारको त्यस यात्राले नेपाली समसामयिक चित्रकला क्षेत्रमा नौलो मोड दियो ।

(चित्रकला सम्बन्धी ज्ञातासँगको कुराकानी, विकिपीडिया तथा इन्टरनेटमा भेटिएका सामग्रीको अध्ययन पश्चात् तयार गरिएको लेख)