२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


जसपामा ठाकुरले कार्यकारिणी समिति सदस्य र सांसदलाई खाली कागजमा हस्ताक्षर गराए


0
Shares

काठमाडौं । जनता समाजवादी पार्टीभित्र पूर्वराजपा र पूर्वसमाजवादी पक्षबीच शक्ति संघर्ष चर्किरहेका बेला अध्यक्ष महन्थ ठाकुरले आफ्नो पक्षमा रहेका केन्द्रीय कार्यकारिणी समिति सदस्य र सांसदको हस्ताक्षर संकलन गरेका छन् ।

उनले सोमबार पूर्वराजपाको बबरमहलस्थित कार्यालयमा बोलाएर खाली कागजमा हस्ताक्षर गर्न लगाएको केन्द्रीय कार्यकारिणी समितिका एक सदस्यले बताए । उनका अनुसार हस्ताक्षरको प्रयोजन ठाकुरले खुलाएका छैनन् ।

ठाकुरले आइतबार राजधानीबाहिर रहेका पार्टी केन्द्रीय कार्यकारिणी समिति सदस्य र सांसदलाई टेलिफोन गरेर सोमबारसम्म राजधानी आइपुग्न भनेका थिए । तत्कालीन राजपा अध्यक्षमण्डलका सदस्यसमेत रहेका नेता महेन्द्र राय यादवसहित तीन केन्द्रीय कार्यकारिणी सदस्यले अर्का अध्यक्ष उपेन्द्र यादव पक्षलाई साथ दिएपछि ठाकुर पक्ष पार्टीभित्र अल्पमतमा परेको छ । ‘केन्द्रीय कार्यकारिणी समितिका दुई दर्जन सदस्यले आजै (सोमबार) हस्ताक्षर गरिसक्नुभएको छ,’ पूर्वराजपाका एक नेताले भने, ‘भोलि बाँकीलाई बोलाएर हस्ताक्षर गराउने योजना छ ।’

५१ सदस्यीय केन्द्रीय कार्यकारिणी समितिमा पूर्वराजपाका २६ र पूर्वसमाजवादीका २५ सदस्य छन् । लुम्बिनी प्रदेशका चार सांसदलाई कारबाही गर्ने र प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने सम्बन्धमा भएका निर्णयमा अध्यक्ष यादव, संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईसहित २६ जनाको हस्ताक्षर थियो । घरघरमा हस्ताक्षर गराएर बस्दै नबसेको केन्द्रीय कार्यकारिणी समितिको बैठक भनी गरिएको निर्णय फर्जी भएको आरोप ठाकुर पक्षको छ । ठाकुरले पनि त्यस्तै कदम अघि बढाउन खोजेको भन्दै पूर्वराजपाका केही नेताले असन्तुष्टि जनाएका छन् ।

ठाकुरले हस्ताक्षर गराउनुका पछि चारवटा विषयलाई जोडेर हेर्ने गरिएको छ । उनको पहिलो प्राथमिकता केन्द्रीय कार्यकारिणी समितिमा गुमेको बहुमत फर्काउनेछ । अर्का अध्यक्ष यादवलाई साथ दिएका पूर्वराजपाका तीनै जना सदस्यलाई आफ्नो पक्षमा तान्ने कोसिस उनको छ । बहुमत पुर्‍याएर लुम्बिनी प्रदेशमा चार प्रदेश सांसदमाथि गरिएको कारबाही फुकुवा गराउने योजना पनि उनले बनाएका छन् । दोस्रो, ठाकुर पार्टीको संसदीय दलको नेता बन्न इच्छुक देखिन्छन् । कुनै पनि बेला संसदीय दलका नेता हुन उनले बहुमत जुटाउन कोसिस गरेका हुन् । आफू निकटहरूसँगको कुराकानीमा संसदीय दलमा बहुमत सांसदले आफूलाई साथ दिने विश्वास उनले व्यक्त गर्न गरेका छन् । कान्तिपुर