१८ असार २०८२, बुधबार | Wed Jul 2 2025


महरा अझै पाँच दिन थुनामा, ‘पीडित’ महिलाले दिइन् जबर्जस्ती उजुरी गराएको जाहेरी


0
Shares

अपडेटः

काठमाडौं, कात्तिक ३ । बलात्कार प्रकरणमा प्रहरी हिरासतमा रहेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई काठमाडौं जिल्ला अदालतले शनिबार (हिजो)देखि लागू हुनेगरी अझै पाँच दिन थुनााम राखी अनुसन्धान गर्न अनुमति दिएको छ ।

आइतबार प्रहरीले सात दिनको अनुमति मागेकामा न्यायाधीश बाबुराम सुवेदीको इजलासले पाँच दिनको म्याद दिएको हो ।

यसअघि थपिएको म्याद शनिबार सकिएकाले सोहीअनुसार म्याद थप गरिएको हो ।

आइतबार अदालतमा उपस्थित गराउनुअघि महरालाई सरकारी वकिलको कार्यालय लगी बयान लिइएको थियो ।

करिब सात घन्टा बयान लिएपछि साँझ ५ बजेपछिमात्रै अदालत पुर्‍याइएको थियो ।

म्याद थपिएपछि उनलाई पुनः नर्भिक अस्पताल नै फर्काइएको छ ।

पक्राउलगत्तै उच्च रक्तचाप र मुटुमा समस्या देखिएको भन्दै महरा नर्भिक अस्पतालमा बस्दै आएका छन् ।

संसद सचिवालयकी कर्मचारी रोशनी शाहीले आफूमाथि बलात्कार प्रयास गरेको भन्दै किटानी जाहेरी दिएपछि प्रहरीले महरालाई गएको असोज १९ गते बालुवाटारस्थित सभामुख निवासबाटै पक्राउ गरेको थियो ।

‘जबर्जस्ती उजुरी’

यसैबीच, पीडित भनिएकी महिला रोशनी शाहीले आफूलाई प्रहरीले जबर्जस्ती महराविरुद्ध बयान गराइ उजुरी दिन लगाएको दाबी गर्दै आइतबार अदालतसमक्ष जाहेरी दिएकी छन् ।

महरालाई म्याद थपका लागि अदालत पुर्‍याइएकै बेला आफ्ना पति चित्रजंग शाहीसँगै अदालत पुगेकी रोशनीले यस्तो दाबीसहितको जाहेरी दिएकी हुन् ।

उनले महरा र आफ्नो पारिवारिक सम्बन्ध रहेको र आफूमाथि बलात्कार प्रयास नभएको जिकिर पनि गरेकी छन् ।

पटक–पटक बयान फेर्दै आएकी रोशनी र उनका श्रीमान्ले यसअघि आफूहरु ‘डिभोर्स’का लागि सहमत भएको भन्दै वक्तव्यबाजीसमेत गरेका थिए ।