
काठमाडौं, कात्तिक ३ । चितवन राइनोज् राजधानीमा जारी महिला ‘फ्रेन्चाइज’ क्रिकेट लिगको फाइनलमा पुगेको छ ।
आइतबार भएको लिग चरणको अन्तिम खेलमा विराटनगर टाइटान्सलाई ५३ रनले पराजित गर्दै चितवन शतप्रतिशत नजितासहित ८ अंकबाट शीर्ष स्थानमा रहँदै फाइनलमा पुगेको हो ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा चितवनले दिएको १२३ रनको चुनौती पछ्याएको विराटनगर १७ ओभर ५ बलमा ‘अलआउट’ हुँदै ६९ रनमा समेटियो ।
ज्योति पाण्डे र डली भट्टले समान २१ रन बनाएको इनिङ्समा अरु कुनैपनि खेलाडीले दोहोरो रन जोड्न सकेनन् ।
चितवनका कविता गौतमले ३ तथा सुमन खतिवडाले २ विकेट लिइन् ।
त्यसअघि, टस जितेर पहिले ब्याटिङ गरेको चितवनले काजल श्रेष्ठको ३६ र कन्चन श्रेष्ठको ३४ रनको मद्दतले निर्धारित् २० ओभरमा ८ विकेटको क्षतिमा १२२ रन बनाएको थियो ।
पराजित भएपनि विराटनगर ४ अंक जोड्दै ‘क्वालिफायर’मा पुगिसकेको छ ।
विराटनगरले मंगलबार हुने क्वालिफायरमा ६ अंक जोड्दै दोस्रो स्थानमा रहेर लिग चरण सकाएको क्याट् क्वीन्स काठमाडौंसित खेल्नेछ । विजेताले उपाधिका लागि फाइनलमा बिहीबार चितवनको सामना गर्नेछ ।
काठमाडौंद्वारा ललितपुर ८ विकेटले पराजित
लिग चरणको आफ्नो अन्तिम खेलमा आइतबारै काठमाडौंले ललितपुर फाल्कोन्सलाई ८ विकेटले हरायो ।
टस जितेर पहिले ब्याटिङ गरेको ललितपुरले २० ओभरमा ५ विकेटको क्षतिमा १०५ रन बनाएको थियो ।
रोशनी बोहराले अविजित २९ रन बनाएको इनिङ्समा काठमाडौंकी ईश्वरी विष्टले २ विकेट लिइन् ।
जवाफमा काठमाडौंले १७ ओभर २ बलमै २ विकेटको क्षतिमा विजय हासिल गर्यो । कप्तान रुबिना क्षेत्रीले अविजित ५९ रन बनाइन् ।
सोमबार प्रतियोगिताबाट बाहिरिइसकेका पोखरा पल्टन र ललितपुर फाल्कोन्सले लिग चरणको अन्तिम खेलमा आपसमा खेल्दैछन् ।
प्रतिक्रिया दिनुहोस्