१ जेष्ठ २०८२, बिहिबार | Fri May 16 2025


सतर्कता केन्द्र आफैँ अस्थिर : १९ वर्षमा २६ सचिव, साता नबित्दै फेरिए


0
Shares

काठमाडौं । भ्रष्टाचार नियन्त्रण र भ्रष्टाचारविरुद्ध जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले स्थापित राष्ट्रिय सतर्कता केन्द्र आफैँ अस्थिर बनेको छ । स्थापना भएको १९ वर्षमा २६ सचिव फेरिएका छन् । ६ दिनमै सचिव फेरिएका उदाहरण पनि छन् । ३ फागुन ०७४ मा एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री बनेयता मात्रै केन्द्रमा ६ सचिव फेरिएका छन् ।

ऋषिराम शर्मा सवा १३ महिना टिक्नुबाहेक अरू सचिवले ६ महिना पनि काम गर्न पाएनन्, सरुवा भयो । ‘सचिवहरू पनि सतर्कता केन्द्रमा बस्न नपरे हुन्थ्यो ठान्ने र सरकारले खटाइहालेमा छिटोभन्दा छिटो निस्कन खोज्ने गर्छन्,’ पूर्वसचिव शर्माले भने, ‘सरकारले पनि सतर्कतालाई हेला गर्‍यो, आफूले मन नपराएका सचिवलाई थन्क्याउनका लागि सतर्कतामा पठाउने गर्छ ।’

०७४ मा भएको चुनावताका त सतर्कतामा सचिव धनबहादुर तामाङले ६ दिन मात्र काम गरे । सतर्कताबाट प्राप्त विवरणअनुसार २२ असार ०७४ मा हाजिर भएका उनी २७ असारमा अन्यत्रै सरुवा भएका थिए । त्यसपछि २ असोज ०७४ मा सतर्कता पुगेका माधवकुमार कार्की पनि १६ दिनमै अर्थात् १८ असोजमै सरुवा भए ।

पछिल्लो समय सचिव देवेन्द्र कार्की पनि डेढ महिनामै सरुवा भएर ऊर्जा मन्त्रालयमा पुगेका छन् । नेपाल ट्रस्टबाट सरुवा भई १० फागुनमा सतर्कता पुगेका उनको ७ वैशाख ०७८ मा सरुवा गरियो । ऊर्जाका सचिव दिनेशकुमार घिमिरेलाई सतर्कतामा पठाइएको छ । अहिले उनी नै कार्यरत छन् ।

‘सतर्कतामा स्रोतसाधन पनि छैन, अधिकार पनि खासै छैन, सतर्क गराउने मात्र त हो,’ सतर्कताका एक अनुसन्धान अधिकृतले भने, ‘त्यही भएर पनि यहाँ सचिव आउनै मान्दैनन् । थन्क्याइएको रूपमा लिने गरिएको छ । सरुवा भइहाले पनि जतिसक्दो चाँडो जान खोज्छन् ।’

नयाँ पत्रिका