काठमाडौं, कात्तिक २ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले हत्या अभियोगमा पक्राउ परेका कांग्रेस सांसद मोहम्मद आफताव आलममाथिको मुद्दामा गरिने अनुसन्धानमा पार्टीले सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
शुक्रबार भक्तपुरमा आयोजित एक कार्यक्रममा घटना घटेको १२ वर्षपछि सरकारले आलमलाई पक्रिएको भन्दै सभापति देउवाले असन्तुष्टि जनाएका थिए ।
कार्यक्रममा उनले सरकारले षड्यन्त्रमूलक ढंगले नियतबस कांग्रेसका नेता–कार्यकतालाई फसाउन खोजेको जिकिर गरेका थिए ।
लगत्तै जघन्य अपराधको मुद्दामा पक्राउ परी अनुसन्धानकाक्रममा रहेका सांसदको बचाउ गरेको भन्दै पार्टीपंक्ति र बाहिरबाट चर्को विरोध भएको थियो ।
यसपछि सभापति देउवाले शनिबार एक विज्ञप्ति जारी गर्दै पूर्वाग्रह र दबाबमुक्त रहेर अनुसन्धान गर्ने प्रक्रियालाई कांग्रेसले सहयोग गर्ने बताएका हुन् ।
‘कुनैपनि गम्भीर मुद्दामा प्रक्रियागत ढिलासुस्ती हुँदा त्यसले निर्दोष सावित हुने या दोषी ठहर हुने सत्यतथ्य अन्वेषण गर्ने कार्यमा बाधा पुग्ने भएकाले १२ वर्ष पुरानो मुद्दामा मैले यही संकेत गरेको हुँ’–देउवाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
उनले नेपाली कांग्रेस कानुनी राज्यमा विश्वास गर्ने भएकाले कोहीमाथि पनि जरुरी अनुसन्धानको विपक्षमा उभिन नसक्ने प्रस्ट पारेका छन् ।
‘मोहम्मद आफताव आलममाथिको मुद्दामा कुनैपनि पूर्वाग्रह र दबाबमुक्त रहेर अनुसन्धान गर्ने कार्यलाई नेपाली कांग्रेसको सहयोग रहन्छ’–विज्ञप्तिमा भनिएको छ ।
सभापति देउवाले निर्दोष कोही दन्डित नहुने र दोषीलाई उन्मुक्ति हुन नहुने आफूहरुको प्रस्ट मान्यता सार्वजनिकरुपले प्रस्ट्याउन चाहेको विज्ञप्तिमा उल्लेख गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्