कञ्चनपुर । कञ्चनपुरको महाकाली र भीमदत्त नगरपालिकाबीच महाकाली नदीको स्रोतका बारेमा विवाद चुलिएको छ ।
गत वर्ष दुवै नगरपालिकाका वडाध्यक्ष सम्मिलित कार्यदलले गरेको निर्णयलाई भीमदत्त नगरपालिकाले कार्यान्वयन नगरेपछि विवाद चुलिएको हो ।
कार्यदलले प्रदेश सरकारलाई ४० प्रतिशत दिएर बाँकी रहेको राजस्व दुवै नगरपालिकाबीच आधा–आधा बाँडफाँट गर्ने सहमति गरेको थियो ।
तर, भीमदत्त नगरपालिकाले भने आफ्नो क्षेत्रमा नदीको भू–भाग बढी रहेको भन्दै संकलन भएको राजश्वको ३० प्रतिशत मात्रै माहाकाली नगरपालिकालाई दिने अडान राखेको छ ।
दुवै स्थानीय तहबीच सहमति हुन नसकेपछि भीमदत्त नगरपालिकाले आफ्नो क्षेत्रमा एक्लैै ठेक्का आह्वान गरेको भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले बताए ।
उनका अनुसार गतवर्ष दुवै नगरपालिकाले आफंै राजश्व संकलन गरेका थिए । जसअन्तर्गत भीमदत्तले ३ करोड ९० लाख र महाकाली नगरपालिकाले १ करोड ६० लाख रुपैयाँ राजश्व संकलन गरेका थिए ।
यता, महाकाली नगरपालिकाले भने प्राकृतिक स्रोतमा समान अधिकार हुने भन्दै नदीजन्य पदार्थ उत्खनन र त्यसबाट संकलन हुने राजश्वमा पनि बराबर अधिकार हुनुपर्नेे बताउँदै आएको छ ।
यसअघि, महाकालीमा नदीजन्य पदार्थ उत्खननका लागि तत्कालीन जिल्ला विकास समितिमार्फत ठेक्का हुने गरेको थियो । जिविसले संकलन भएको राजश्वको १३ प्रतिशत महाकाली र ४५ प्रतिशत भीमदत्त नगरपलिकालाई दिँदै आएको थियो ।
प्रतिक्रिया दिनुहोस्