काठमाडौं, कात्तिक १ । राजधानीमा जारी पहिलो ‘डब्लुसीएल’ महिला ट्वेन्टी–२० क्रिकेटअन्तर्गत् शुक्रबारका खेलमा विराटनगर टाइटान्स र चितवन राइनोज् विजय भएका छन् ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शुक्रबार भएको पहिलो खेलमा विराटनगरले पोखरा पल्टनलाई ६ विकेटले हरायो ।
टस जितेर पहिले ब्याटिङ गरेको पोखराले २० ओभरमा ५ विकेटको क्षतिमा ९४ रन बनाएको थियो ।
कविता कुँवरले अविजित २२ रन बनाएको इनिङ्समा विराटनगरकी सबनम राईले २ विकेट लिइन् ।
जवाफमा विराटनगरले १५ ओभरमै ४ विकेटको क्षतिमा विजय लक्ष्य पूरा गर्यो ।
उसका लागि लक्ष्मी चौधरीले २३ तथा ज्योति पाण्डेले २२ रन बनाए ।
चितवन विजयी, ललितपुर पराजित
शुक्रबारै भएको दोस्रो खेलमा चितवनले ललितपुर फाल्कोन्सलाई ८९ रनले पराजित गर्यो ।
टस हारेर पहिले ब्याटिङ गरेको चितवनले २० ओभरमा ३ विकेटको क्षतिमा १३५ रन बनाएको थियो ।
रितु कनौजियाले ५५ बलमा अविजित रहँदै ५८ रन बनाएको इनिङ्समा ललितपुरकी कप्तान नेरी थापाले २ विकेट लिइन् ।
जवाफमा ललितपुरले १७ ओभर १ बल खेल्दै ‘अलआउट’ हुनुपूर्व ४६ रनमात्र बनाउन सक्यो ।
नेरीले मात्र दोहोरो ‘स्कोर’ जोड्नेक्रममा १७ रन बनाएको इनिङ्सलाई सस्तैमा समेट्न चितवनकी कविता गौतमले ३ तथा रितुले २ विकेट लिइन् ।
यी खेलपछि पाँच टोली सहभागी लिगमा दोस्रो चरणको समाप्तिसम्म विराटनगर र चितवन शतप्रतिशत नतिजासहित ४ अंकबाट क्रमशः पहिलो र दोस्रो स्थानमा छन् ।
क्याट क्विन्स काठमाडौं २ अंकबाट तेस्रो स्थानमा छ भने ललितपुर र पोखराले अंकको खाता खोल्न सकेका छैनन् ।
विराटनगर कारबाहीमा
यता, खेलमा ढिलाइ गरेको भन्दै विराटनगर कारबाहीमा परेको छ ।
विराटनगरले खेलेको ललितपुर र पोखराविरुद्धको खेलमा ‘स्लो ओभर रेट’ भएका कारण विराटनगरका कप्तानलाई ‘म्याच फी’को १० प्रतिशत र बाँकी खेलाडीलाई ५ प्रतिशत जरिवाना गरिएको हो ।
प्रतिक्रिया दिनुहोस्