काठमाडौं, असोज ३० । वुमेन च्याम्पियन्स लिग (डब्लुसीएल) महिला ट्वेन्टी–२० क्रिकेटमा विराटनगर टाइटान्सले विजयी सुरुआत गरेको छ ।
बिहीबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको दोस्रो खेलमा विराटनगरले ललितपुर फाल्कोन्सलाई ४ विकेटले हरायो ।
टस हारेर पहिले ब्याटिङ गरेको ललितपुरले निर्धारित् २० ओभरमा ७ विकेटको क्षतिमा १२२ रन बनाएको थियो ।
ममता चौधरीले २८ रन बनाएको इनिङ्समा करुणा भण्डारीले २१ रन जोडिन् ।
बलिङतर्फ विराटनगरका सबनम राई र आरती बिडारीले समान एक/एक विकेट लिए । ललितपुरका पाँच खेलाडी ‘रनआउट’ भएका थिए ।
जवाफमा विराटनगरले ज्योति पाण्डेको आकर्षक ब्याटिङको मद्दतले १६ ओभरमै ६ विकेटको क्षतिमा विजय हासिल गर्यो ।
‘ओपनर’ ज्योतिले ४३ बलको सामना गर्दै सर्वाधिक ६५ रन बनाइन् । सोनु खड्काले २४ रनको योगदान गरिन् । ‘प्लेयर अफ दी म्याच’ घोषित हुँदै ज्योतिले पाँच हजार रुपैयाँ पाइन् ।
ललितपुरका लागि सम्झना खड्काले दुई र करुणा भण्डारीले एक विकेट लिए । विराटनगरका तीन खेलाडी रनआउट भएका थिए ।
प्रतियोगितामा देशका पाँच सहरका पाँच टोली सहभागी छन् ।
क्वीन्स इभेन्ट मेनेजमेन्ट प्रालिले आयोजना गरेको यो प्रतियोगितामा काठमाडौं, ललितपुर, चितवन, पोखरा र विराटनगरका फ्रेन्चाइज टोलीहरु सहभागी छन् ।
प्रतिक्रिया दिनुहोस्