१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


छिमेकीमाथि खुकुरी प्रहार, एकजनाको मृत्यु, दुई गम्भीर


0
Shares

हेटौंडा, असोज ३० । मकवानपुरको बकैया गाउँपालिका–३, हात्तीसुँडेस्थित पाख्रिनका सुकबहादुर पाख्रिनले छिमेकीहरुमाथि खुुकुरी र बन्चरो प्रहार गर्दा एकजनाको मृत्यु भएको छ । दुईजना घाइते छन् ।

मृत्यु हुनेमा स्थानीय ५० वर्षीया सन्तमाया लो छिन् ।

बुधबार साँझ ६ बजेतिर सुकबहादुरले सुरुमा छिमेकी २६ वर्षीया देवीमाया मोक्तानलाई आक्रमण गरेका थिए ।

त्यसपछि सुकबहादुरले अर्का छिमेकी ५५ वर्षीय कालुबहादुर लोको घरमा पसेर कालु र उनकी श्रीमती सन्तमायालाई टाउकोमा बन्चरो प्रहार गरेका थिए ।

प्रहरीकाअनुसार धारिलो हतियार प्रहारबाट गम्भीर घाइते भएकी सन्तमायाको उपचारकाक्रममा हेटौंडास्थित चुरेहिल अस्पतालमा बुधबार राति नै मृत्यु भएको हो ।

सुकबहादुरले अरुहरुलाई पनि आक्रमण गर्न खोजेका थिए । छिमेकीले हो–हल्ला गरी रोकेर प्रहरीलाई खबर गरेपछि उनले थप आक्रमण गर्न नपाएको स्थानीयले बताएका छन् ।

५० वर्षीय सुकबहादुरलाई प्रहरीले पक्रेको छ ।

घाइते देवीमाया र कालुको चुरेहिल अस्पतालमै उपचार भइरहेको छ । उनीहरुको अवस्था गम्भीर रहेको छ ।

मृतक सन्तमायाका छोरा विनोदले सुकबहादुरसँग आफूहरुको कुनै मनमुटाव नभएकोे बताएका छन् ।

घटनाबारे अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिए ।