
काठमाडौं, असोज ३० । वुमेन च्याम्पियन्स लिग (डब्लुसीएल) महिला ट्वेन्टी–२० क्रिकेटमा क्वाट क्वीन्स काठमाडौंले पहिलो जित निकालेको छ ।
बिहीबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा क्वाट क्वीन्स काठमाडौंले पोखरा पल्टनलाई ८२ रनले पराजित गर्यो ।
काठमाडौंले दिएको १५३ रनको फराकिलो लक्ष्य पछ्याएको पोखरा १६ ओभर ५ बलमा ‘अलआउट’ हुनुपूर्व ७० रनमै समेटियो ।
पोखरालाई सस्तैमा समेट्न काठमाडौंकी सरस्वती कुमारी र अप्सरी बेगमले समान २/२ विकेट लिए ।
त्यसअघि, टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौंले २० ओभरमा ५ विकेट गुमाएर १५२ रन बनाएको थियो ।
उसका लागि कप्तान रुबिना क्षेत्रीले अविजित ८३ रन जोडिन् । रुबिनाको अर्धशतक जारी प्रतियोगिताको पहिलो अर्धशतक हो । ‘प्लेयर अफ दी म्याच’ घोषित हुँदै उनले पाँच हजार रुपैयाँ पाइन् ।
बलिङतर्फ पोखराकी अनुराधा चौधरीले ४ विकेट लिइन् ।
जितसँगै काठमाडौंले २ खेलमा २ अंक जोडेको छ । पहिलो खेलमा काठमाडौंलाई बुधबार चितवन राइनोज्ले ५ विकेटले हराएको थियो ।
प्रतियोगितामा काठमाडौं, ललितपुर, पोखरा, चितवन र विराटनगरका पाँच टोली सहभागी छन् ।
प्रतिक्रिया दिनुहोस्