सम्पन्नशाली व्यक्तिहरुले मात्र सरकारको आलोचना गरे : प्रधानमन्त्री • Image Khabar Image Khabar


सम्पन्नशाली व्यक्तिहरुले मात्र सरकारको आलोचना गरे : प्रधानमन्त्री


Imagekhabar
२९ आश्विन २०७६, बुधबार १७:३७

सम्पन्नशाली व्यक्तिहरुले मात्र सरकारको आलोचना गरे : प्रधानमन्त्री

काठमाडौं, असोज २९ । प्रधानमन्त्री केपी शर्मा ओलीले धनाढ्य र सम्पन्नशाली व्यक्तिहरुले मात्र सरकारको आलोचना गरेको जिकिर गरेका छन् ।

बडादसैं, तिहार, नेपाल संवत्, छठलगायत पर्वका अवसरमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले बुधबार काठमाडौंमा आयोजना गरेको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रममा प्रधानमन्त्री ओलीले घर भइरहेका, जागिर भइरहेका र व्यवसाय गरिरहेकाहरुले मात्र सरकारले केही गरेन भन्ने गरेको दाबी गर्दै ‘गरिबको पनि बैंकमा खाता हुनुलाई उपलब्धि नभन्ने ?’ भन्दै प्रश्न गरे ।

उनले भने–‘हरेक नागरिकको बैंकमा खाता हुनु, बाटो बन्नु, विद्युत्मा जनताको लगानी हुनु सरकारको ठूलो उपलब्धि हो ।’

उनले सरकारको बचाउ गर्दै केहीपनि भएन भन्नेहरुलाई ‘आँखा खोलेर हेर्न’ आग्रहसमेत गरे ।

प्रधानमन्त्री ओलीले छिमेकी देश भारत र चीन नेपालको विकासमा सघाउन आतुर रहेको र त्यसका लागि सम्झौताहरुसमेत भइरहेको बताए ।

नेकपा अध्यक्ष ओलीले निर्वाचनकाक्रममा दलहरुबीच तिक्तता रहेपनि अब मुलुकलाई समृद्ध बनाउन एकाकार हुनुपर्ने बताए ।

परिवर्तनका पक्षधर शक्तिहरु एकजुट हुन आवश्यक : दाहाल

कार्यक्रममा नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालले आफूले विकासका लागि प्रस्ताव गरेको नेपाल, चीन र भारतबीचको साझेदारीका लागि अब भारत र चीनलेसमेत साथ दिन थालेकामा खुसी लागेको बताए ।

उनले भने–‘मुलुकको समृद्धिका लागि परिवर्तनका पक्षधर शक्तिहरु एकजुट हुन आवश्यक छ ।’

नेकपाले काठमाडौंको भृकुटीमन्डपमा चियापान कार्यक्रम आयोजना गरेको हो ।

प्रतिक्रिया दिनुहोस्