Logo २७ पुस २०८२, आइतबार | Sun Jan 11 2026


केहीपनि भएन भन्नेहरुको आफ्नो स्वार्थ होला : प्रधानमन्त्री


0
Shares

काठमाडौं, असोज २९ । प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी मुलकसँगको सम्बन्ध सुधार र मुलुकभित्र नयाँ–नयाँ आयोजनाको थालनी गरेर नेपाल विकास र समृद्धिको नयाँ बाटोमा अघि बढेको बताएका छन् ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले बडादसैं, तिहार, नेपाल संवत्, छठलगायत पर्वका अवसरमा बुधबार काठमाडौंमा आयोजना गरेको शुभकामना आदान–प्रदान तथा चियापन कार्यक्रममा सम्बोधन गर्दै उनले ‘हाम्रो देश हामीले नै बनाउने हो । कानुनी राज्य पालना, सुशासन कायम र भ्रष्टाचारमुक्त र संस्कारयुक्त समाज निर्माण गर्न हामी सबै लाग्नुपर्छ’ भने ।

प्रधानमन्त्री ओलीले ‘केहीपनि भएन भन्नेहरुको आफ्नो स्वार्थ होला, तिनीहरुले आँखा चिम्लेर हेरेको हुनसक्छ । आँखा खोलेर हेर्दा जनताका लागि धेरै काम अगाडि बढेका छन्’ भने ।

उनले भने–‘जनताका लागि धेरै काम भएका छन् । जस्तैः वृद्धभत्ता वृद्धि, बिजुलीमा जनताको लगानी, पोखरा र भैरहवा विमानस्थल, द्रुतमार्गको निर्माण द्रुत, पेट्रोलियम पाइपलाइन सुरुआत, सयौं पुल निर्माण, कोसीमा स्टिमर सन्चालन, वैदेशिक लगानीमा वृद्धि, चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमण, बुटवल–गोरखपुर अन्तरदेशीय प्रसारणलाइन निर्माणकार्यलगायत छन् ।’

प्रधानमन्त्री ओलीले नेपाल सांस्कृतिकरुपमा समृद्ध रहेको चर्चा गर्दै ‘विविधतामा एकता छ’ भने । उनले विविधताको एकतालाई कसैले विखन्डन गर्न नसक्ने उल्लेख गरे ।

एकताको बलको आधारमा राष्ट्रिय एकतालाई थप सुदृढ पार्दै ‘समृद्ध नेपाल, सुखी नेपाली’ अभियानमा सरिक हुन उनले आह्वानसमेत गरे । रासस