
काठमाडौं, असोज २९ । राष्ट्रपति विद्यादेवी भण्डारी शीतलनिवासबाट हेलिकोप्टर चढेर विमानस्थल पुगेकी छन् ।
यसअघि सडक मार्ग हुँदै विमानस्थल जाने गरेकी राष्ट्रपति भण्डारी बुधबार भने हेलिकोप्टर चढेर विमानस्थल गएकी हुन् ।
उनी म्यानमार भ्रमणमा जान महाराजगञ्जस्थित आफ्नो सरकारी निवासबाट बुधबार बिहान हेलिकोप्टरमार्फत विमानस्थल पुगेकी हुन् ।
सडक मार्ग भएर जाने आउने गर्दा सवारी जाम हुने र त्यसले राष्ट्रपतिको आलोचना हुने भन्दै हेलिकोप्टरबाट विमानस्थल आउने जाने व्यवस्था मिलाउने खबर यसअघि आएको थियो ।
म्यानमारका समकक्षी विन मिन्टको निमन्त्रणामा म्यानमार जान लागेकी राष्ट्रपति भण्डारी बिहान ११ बजे हेलिकोप्टरमार्फत विमानस्थलमा उत्रिएर त्यसतर्फ प्रस्थान गरेकी हुन् ।
म्यानमारतर्फ प्रस्थान गर्नुअघि उनलाई विमानस्थलमा उपराष्ट्रपति, प्रधानमन्त्री, सरकारका मन्त्रीलगायतले बिदाइ गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्