२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


सांसदले गरे जनकपुर विमानस्थलमा तोडफोड, दोषीमाथि कारबाहीका लागि सात दिनको ‘अल्टिमेटम’


0
Shares

काठमाडौं, असोज २७ । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका सांसद प्रमोद साहले जनकपुर विमानस्थलमा तोडफोड गरेका छन् ।

उडान ढिला भएको भन्दै सांसद साहले सोमबार दिउँसो विमानस्थलमा अन्धाधुन्द प्रहार गरी तोडफोड गरेका हुन् ।

जनकपुरबाट काठमाडौं आउन लागेका सांसद साहले विमानस्थलका कर्मचारीमाथि दुर्व्यवहार गर्नुका साथै बुद्ध एअरको काउन्टर र भीआइपीकक्षमा तोडफोड गरेको जनकपुर विमानस्थलले जनाएको छ ।

हातपातको प्रयास

यता, नेपाल नागरिक उड्डयन प्राधिकरणले पनि सर्लाही क्षेत्र नम्बर–१ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद साहले विमानस्थलका कर्मचारीलाई अभद्र व्यवहार गर्दै तोडफोड गरेको रिपोर्ट प्राधिकरणमा आएको जनाएको छ ।

सांसद साहले बुद्ध एअरका जनकपुर इन्चार्जमाथि हातपातको प्रयाससमेत गरेको जनाइएको छ ।

तोडफोडको घटनापछि बुद्ध एअरले सांसद साहलाई विमानमा चढाउन अस्वीकार गरेकामा धनुषाका प्रमुख जिल्ला अधिकारीको दबाबमा उनलाई विमानमा प्रवेश दिइएको बुझिएको छ ।

कारबाहीको माग र चेतावनी

यसैबीच, वायुसेवा सन्चालक संघ नेपालले घटनाको घोर भर्तसना गर्दै छानबिन गरी दोषीउपर सात दिनभित्र कारबाही गर्न माग गरेको छ ।

दोषीमाथि कारबाही नभए जनकपुर विमानस्थलका सम्पूर्ण उडान स्थगित गर्ने चेतावनी पनि संघले दिएको छ ।