२९ आश्विन २०८१, मंगलबार | Tue Oct 15 2024


किन र कसलाई दिए चिनियाँ राष्ट्रपति सी चिनफिङले हड्डी धुलो पारिदिने धम्की ?


0
Shares

काठमाडौं, असोज २७ । चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपाल भ्रमणका समयमा चीनलाई टुक्र्याउने प्रयास गर्नेको हड्डी धुलो बनाइदिने चेतावनी दिएका छन् ।

निकै शालिन देखिने नेता सीले नेपाल भ्रमणको समयमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटमा कठोर चेतावनी दिँदै ‘चीनलाई टुक्र्याउने प्रयास गर्नेको हड्डी धुलो बनाउने’ बताएका हुन् ।

चिनियाँ सरकारी सञ्चारमाध्यम ‘सीसीटीभीले सोही दिन प्रकाशित गरेको उक्त खबरलाई अरु अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले पछिल्लो दिन प्रकाशित गरेका छन् ।

राष्ट्रपति सी चिनफिङले अत्यन्त कठोर भाषामा चीनलाई टुक्राउने प्रयास गर्नेहरुको हड्डी धुलो बनाइदिने धम्की दिएको चिनियाँ सरकारी समाचार संस्था ‘सिन्ह्वा’ले पनि जनाएको छ ।

नेपालका प्रधानमन्त्रीसँगको भेटघाटमा सीले भने, ‘यदी चीनको कुनै पनि हिस्सालाई टुक्राउने कोशिश मात्र गरियो भने तिनको हड्डी धुलो बनाइनेछ । यस्तो प्रयास सफल होला भन्ने सोचेर समर्थन गर्ने बाह्य शक्तिको दिवा सपनामात्र हुनेछ ।’

‘बीबीसी’लगायत अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले चिनियाँ विदेश मन्त्रालयलाई उधृत गर्दै प्रकाशित गरेको समाचारले अहिले सनसनी मच्चाएको हो ।

यही भनाईलाई चिनियाँ सरकारी समाचार संस्था सिन्ह्वाले ‘चीनको कुनै पनि भागमा अलगाववादी गतिविधिका प्रयास गर्ने जो कोहीलाई कुल्चिइनेछ र त्यस्ता प्रयासलाई समर्थन गर्ने कुनै पनि बाह्य शक्तिलाई चिनियाँहरूले पाइप–सपनाको रूपमा लिनेछन् ।’ भन्दै लेखेको छ ।

नेपाल भ्रमणकै क्रममा काठमाडौंमा आएर राष्ट्रपति सीले किन यस्तो चेतावनी दिए होलान् भन्ने पनि अड्कलबाजी गरिँदैछ । खासगरी नेपालमा स्वतन्त्र तिब्बतका पक्षधरमाथि पश्चिमा शक्ति राष्ट्रहरुले साथ दिने गरेको छ भन्ने आरोप चिनियाँ पक्षको रहँदै आएको छ ।

राष्ट्रपति सीको भ्रमण अवधिभर र पूर्वसन्ध्यामा समेत तिब्बती शरणार्थी र तिब्बत समर्थकमाथि निकै कडा निगरानी राखिएको थियो ।

अर्कातर्फ केहि महिना यता हङकङमा चलिरहेको विरोध प्रदर्शनप्रति मूख्यभूमि चीन निकै क्रोधित देखिन्छ । आफुसमर्थित प्रशासकले ल्याउन लागेको सुपुदर्गीसम्बन्धि एक कानुनको अवज्ञामा ओर्लिएका प्रदर्शनकारीका कारण चीनलाई टाउको दुखाई बनेको छ ।

हङकङमा जारी प्रशदर्शन पछिल्ला दिनमा हिंसात्मक बन्न थालेको छ । यस्तो पृष्ठभूमिमा नेपाल भ्रमणमा रहेका राष्ट्रपति सीले यस्तो कडा चेतावनी दिएका हुन् ।

राष्ट्रपति सीले नेपाली प्रधानमन्त्री ओलीसँगको भेटमा हङकङ, ताइवान र तिब्बतको प्रसंग निकाल्दै यी भूभाग हिजो, आज र भोलि चीनको अभिन्न अंग रहेको भन्दै यसविरुद्ध गरिने कुनै पनि गतिविधि सह्य नहुने भन्दै नेपालले देखाएको एक चीन नीतिको प्रशंसा गरेका थिए ।

सीको चेतावनी सन्दर्भमा एक चिनियाँ प्राज्ञ सी यिहोङले हङकङको अवस्था गम्भीर भएकाले सीले अमेरिकासहितका प्रत्यक्ष र अप्रत्यक्ष रुपमा त्यहाँ जारी हिंसाको पक्षमा उभिनेहरुलाई चेतावनी दिएको ‘साउथ चाइना मर्निङ पोस्ट’सँग टिप्पणी गरेका छन् । -एजेन्सीको सहयोगमा ।