३० आश्विन २०८१, बुधबार | Wed Oct 16 2024


दक्षिण अफ्रिकाविरुद्धको टेष्ट क्रिकेट श्रृंखला : भारतले रच्यो कीर्तिमान


0
Shares

काठमाडौं । दक्षिण अफ्रिकाविरुद्धको टेष्ट क्रिकेट श्रृंखला भारतले जितेको छ । पुनेमा भएको दोस्रो टेष्ट एक इनिङ्स र एक सय ३७ रनले जितेर भारतले तीन खेलको श्रृंखलामा २/० को अग्रता लिएको हो ।

भारतको यो दक्षिण अफ्रिकाविरुद्धको अहिलेसम्मकै फराकिलो अन्तरको जित हो ।

भारतले पहिलो इनिङ्समा कप्तान विराट कोहलीको अविजित दुई सय ५४ रनको मद्धतले ५ विकेटको क्षतिमा छ सय एक रन बनाएर इनिङ्स समाप्तिको घोषणा गरेको थियो ।

कोहलीले सातौं पटक टेष्टमा दोहोरो शतक बनाएका हुन् । जवाफमा दक्षिण अफ्रिकाले पहिलो इनिङ्समा दुई सय ७५ र दोस्रो इनिङ्समा एक सय ८९ रन बनाएको थियो ।

दुवै इनिङ्समा गरेर रविचन्द्रन आश्विन र उमेश यादवले समान ६/६ विकेट लिए ।

जितसंगै भारतले घरेलु मैदानमा लगातार एघारौं श्रृंखला जित्ने कीर्तिमान रच्न सफल भएको छ ।

यसअघि अष्ट्रेलियाले दुई पटकसम्म १० श्रृंखला जितको कीर्तिमान रचेको थियो ।

पहिलो टेष्ट दुई सय तीन रनले जितेको भारतले श्रृंखलाको अन्तिम खेल कार्तिक २ गतेदेखि राँचीमा खेल्नेछ ।