२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


चिनियाँ राष्ट्रपतिको सम्मानमा सांंस्कृतिक झाँकी प्रदर्शन


0
Shares

काठमाडौं, असोज २५ । जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी चिनफिङको स्वागत तथा सम्मानमा नेपालका विभिन्न जातजाति तथा संस्कृति झल्कने सांस्कृतिक झाँकी प्रदर्शन गरिएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा उनी नेपालको राजकीय भ्रमणमा शनिबार अपराह्न विशेष विमानबाट काठमाडौं अवतरण गरेका हुन् ।

राष्ट्रपति सीको सम्मानमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्टकक्ष, सिनामंगल, तीनकुने, माइतीघर, थापाथली, त्रिपुरेश्वर, कालीमाटी, सोल्टीमोडलगायत स्थानमा झाँकी प्रदर्शन गरिएको संयोजक सांस्कृतिक संस्थानका सूचना अधिकारी पवित्रा पँगेनीले जानकारी दिइन् ।

यसैगरी, राष्ट्रपति सीको सम्मानमा होटेल सोल्टीमा विशेष सांस्कृतिक प्रस्तुति तथा नेपाली र चिनियाँ नृत्य प्रस्तुत गरिने संस्थानका संगीत प्रबन्धक खर्कबहादुर मगरले जानकारी दिए । उक्त सांस्कृतिक प्रस्तुतिमा २५ कलाकारको सहभागिता रहनेछ ।

नेपालको द्विदिवसीय भ्रमणमा रहेका राष्ट्रपति सीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्टकक्षमा राष्ट्रपति भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री केपी शर्मा ओलीले स्वागत गरेका थिए ।

विमानस्थलको मूलद्वार राष्ट्रपति सीको स्वागतका लागि आकर्षक पारिएको थियो ।

विमानस्थल परिसर र वरपर सातै प्रदेशको प्रतिनिधित्व हुनेगरी राष्ट्रिय पोसाक पहिरिएका विभिन्न जातजातिका सांस्कृतिक झाँकीसहितका सर्वसाधारणले नेपाल र चीनका झन्डा फहराएर चिनियाँ राष्ट्रपतिको स्वागत गरेका थिए ।

विशेषगरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि राष्ट्रपतिको आतिथ्यता एवं आवासको प्रबन्ध गरिएको स्थल तथा त्यहाँबाट राष्ट्रपति भवन शीतल निवाससम्मको सवारीमार्गका दुवै किनार भव्यरुपमा सिंगारिएको थियो ।

विमानस्थल प्रवेशको स्वागतद्वारदेखि नै राष्ट्रपतिलाई विभिन्न परम्परागत नेपाली बाजागाजासहित स्वागत गरिएको थियो ।

राष्ट्रपति भण्डारी र उनका समकक्षी सीबीच शनिबारै राष्ट्रपति कार्यालय शीतल निवासमा भेटवार्ता हुँदैछ ।

चीनका राष्ट्रप्रमुखको सम्मानमा राष्ट्रपति भण्डारीले शनिबारै साँझ राजकीय भोजको आयोजना गर्दैछिन् ।

२३ वर्षपछि चिनियाँ राष्ट्रपतिबाट नेपालको राजकीय भ्रमण भएको हो । रासस