२४ आश्विन २०८१, बिहिबार | Thu Oct 10 2024


सी वर्तमान विश्वका अग्रणी नेता


0
Shares

प्रतीक्षा खनाल (इमेज)

काठमाडौं, असोज २५ । सन् १९५३ को जुन १५ मा जन्मिएका सी चिनफिङले १९७४ मा चिनियाँ कम्युनिस्ट पार्टीको सदस्यता प्राप्त गरेका थिए ।

क्रान्तिकारी परिवारमा जन्मिएका सीले मार्क्सवादको गहन अध्ययन गर्नुका साथै सिन्ह्वा विश्वविद्यालयबाट केमिकल इन्जिनियरिङ गरेका छन् ।

सन् २००८ मा उपराष्ट्रपति बनेका सी १४ मार्च २०१३ मा जनवादी गणतन्त्र चीनको राष्ट्रपति बनेका हुन् ।

पहिलो कार्यकाल पूरा गर्दै सन् २०१८ मा दोस्रो कार्यकाल सुरु गरेका राष्ट्रपति सी जनवादी गणतन्त्र चीनका संस्थापक माओ चे तुङपछिका शक्तिशाली नेताकारुपमा स्थापित भएका छन् ।

पहिलोपटक राष्ट्रपति भएपछि उनले देशभित्र पुनःजागरण अभियान सुरु गरे भने अन्तर्राष्ट्रियस्तरमै चीनको समृद्धि बाँड्ने अभियान पनि अघि बढाए ।

चिनियाँ जनतामाझ निकै लोकप्रिय सीले भ्रष्टाचारप्रति शून्य सहनशीलताको नीति लिएका छन् ।

चुस्त निर्णय क्षमता भएका सीले चीनको ग्रामीण क्षेत्रको विकासका लागि अघि सारेका योजनाका कारण पनि उनको लोकप्रियता बढ्दो छ ।

२०१८ को मार्चमा आयोजित चिनियाँ कम्युनिस्ट पार्टीको महाधिवेशनले दुई कार्यकालमात्रै राष्ट्रपति हुने संवैधानिक व्यवस्थालाई संशोधन गरेर सीलाई अरु कार्यकालका लागि पनि बाटो खोलिएको छ ।

सी विचारधारालाई चीनको संविधानमा नै समेटिएको छ भने उक्त विचारधारालाई विश्वमासमेत विस्तार गर्ने लक्ष्य लिइएको छ ।

राष्ट्रपति सीले चिनियाँ कम्युनिस्ट पार्टीले अवलम्बन गर्दै आएका नीतिहरुमा पनि परिमार्जन गर्दै आएका छन् ।

लामो समयदेखि लागू रहेको एक सन्तान नीतिलाई २०१५ मा उल्ट्याइएको छ भने चिनियाँ ऐतिहासिक सम्पदा तथा सांस्कृतिक धरोहरको पुनःजागरणलाई पनि उत्तिकै महत्व दिइएको छ ।

चिनियाँ शैलीको समाजवादलाई स्थापित गर्दै विश्व भाइचारा बढाउने नीति लिएका सी वर्तमान विश्वका अग्रणी नेतासमेत हुन् । –एजेन्सीको सहयोगमा ।