
काठमाडौं, असोज २५ । चिनियाँ राष्ट्रपति सी चिनफिङको राजकीय भ्रमणलाई उच्च महत्व दिँदै प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार सी सवारी हुने सडकमा पुगी जानकारी लिएका छन् ।
सरकारले सो क्षेत्रमा कलात्मक सौन्दर्यसहित स्वागतका लागि विभिन्न तयारी गरेको छ ।
सोबारे जानकारी लिन प्रधानमन्त्री ओली शनिबार बिहान ६ः३० बजे नै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि सोल्टीमोडसम्मको सडकमा निस्किएका थिए ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा. कुन्दन अर्यालले भ्रमणका कार्यसूचीलगायत सम्पूर्ण तयारीका पक्षमा प्रधानमन्त्री ओलीले नजिकबाट चासो दिँदै आउनेक्रममा सडकको अवस्था बुझेको जानकारी दिए ।
प्रधानमन्त्री ओलीले सीका लागि स्वागत गर्दा नेपाली कलाकारबाट प्रस्तुत गरिने चिनियाँ संगीत शुक्रबार श्रवणसमेत गरेका थिए ।
राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा दुईदिवसीय भ्रमणका लागि राष्ट्रपति सी शनिबार अपराह्न काठमाडौं आउँदैछन् । रासस
प्रतिक्रिया दिनुहोस्